back
CTIZAN AD

विदेशमा हण्डर ठक्करः स्वदेश फर्किएपछि कृषिबाट सफलता

वि.सं.२०७९ चैत ५ आइतवार

744 

shares

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन् । यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गरिरहेका छन् ।

युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकेको छ । गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिकामात्रै छन् । पौडेल र सुवेदी ज्वाइँ–जेठान हुन् । पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो । तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ । गोविन्द भने अहिलेसम्म विदेश गएका छैनन् ।

पौडेलसँग विदेशमा भोगेको भोगाइको फेहरिस्त छ । विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ । चारवर्ष अगाडि ज्वाइँ–जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ । रु पाँच लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु ११ लाख बढी लगानी गरिसकेको पौडेलको भनाइ छ ।

कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुआती चरणबाटै सफलता हात पर्न थालेको छ । परिवारसँगै पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन् । तरकारीका बीच–बीचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उनीहरूको दैनिकी हो । घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरूले जग्गा भाडामात्रै वार्षिक करिब एक लाख तिर्ने बताउछन् ।

ज्वाइँ–जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फार्म’ दर्ता गरी व्यवसाय अघि बढाएका छन् । व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन् । पौडेल भन्छन्, “सुरुमा ठूलो पैसा कमाउने आशले विदेश गइयो, तर विदेशमा जति दुःख, सङ्घर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाइ गर्न सकिन्छ, अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ ।”

पौडेललाई विदेशमा छ वर्ष बिताएकामा अहिले पश्चताप लाग्छ । उनी स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । विदेशमा बेच्ने श्रम आफ्नो गाउँठाउँमै गर्न सके समाज परिवर्तनसँगै आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ । व्यवसायलाई थप प्रवद्र्धनका लागि लगानी बढाइराखेको उनी बताउछन् ।

कृषकका लागि धेरै अनुदान तथा कार्यक्रम आए पनि वास्तविक कृषकले नपाएको गोविन्दप्रसाद बताउछन् । अहिलेसम्म कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजारको टेनलबाहेक सहयोग नभएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गर्छन् । कृषकलाई प्राविधिक, समय–समयमा तालिम, मल, उन्नत जातका बीउबिजन र किटनाशक औषधि उलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने सुवेदीको भनाइ छ ।

“यहाँ कृषिमा ठूलो सम्भावना छ, अहिले हामीहरूले सा–सानो फार्म चलाएर पनि जीविकोपार्जन गरेका छौँ, खाडी मुलुकमा जानुपरेको छैन, साउदी, कतारमा कमाउने दाम यही पनि कमाइन्छ”, उनले भने, “तर राज्यले दिने सेवा सुविधा निर्वाहमुखी कृषकलाई र व्यावसायिक कृषक एउटै भएको छ, राज्यले व्यावसायिक कृषकलाई प्राथमिकता दिनुपर्छ, अहिले अनुदान पाउनेमा व्यावसायिक कृषकभन्दा बढी निर्वाहमुखी कृषक छन् ।”

सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए । बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उनले सुनाए । उनीहरूले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रविधिबाट सिँचाइ र तरकारी खेतीको सुरुआत गरेका छन् । बारीमा आधुनिक प्रविधिको थोपा सिँचाइमार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आएका छन् । उनीहरूले मल, बीउलगायतका आवश्यक सामग्री बाहिरबाट लिएर तरकारीका बिरुवा आफँै उत्पादन गर्ने गर्छन् ।

पौडेल र सुवेदीले आम्दानी गरेको अधिकांश रकम व्यवसायमै लगाउँदै आएको बताउछन् । लागानी गरेर पनि वार्षिक रु तीन लाखभन्दा बढी नाफा कमाउँदै आएको उनीहरूको भनाइ छ । व्यवसायलाई थप व्यवस्थित र ठूलो बनाउने योजनामा रहेका उनीहरूले आगमी वर्षमा अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाएका छन् ।

विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसाय कमैले मात्रै गरेका छन् । कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौँका बजेट आउने गरेका छन् । त्यो बजेटलाई कृषकसम्म सहजरूपमा पु¥याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । जिल्लामा पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरू बढेको भन्दै उनीहरूलाई आधुनिकतासँगै जोड्न थालेको उनी बताउछन् ।

“कृषकका हरेक समस्यालाई समाधान गर्दै जाने चरणमा छौँ, सबैका समस्या एकैपटक समाधान हुनसकेका छैनन्, अहिले जिल्लामा कृषकले उत्पादन गर्ने तरकारीहरूले उचित बजार र मूल्य पाउन नसकेको सत्य हो”, उनले भने, “जिल्लामा खपत भइरहेको छ, टाढा–टाढा पु¥याउनुपरेको छैन, बाहिरबाट आउने तरकारीलाई रोक्न सक्ने हो भने यहाँका कृषकलाई ठूलो राहत मिल्छ ।”रासस

 

वि.सं.२०७९ चैत ५ आइतवार ०९:१८ मा प्रकाशित

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...