काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले विश्वासको मत दिनका लागि सांसदहरुलाई ह्वीप लगाउने पनि गरेको छ ।
संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्वीप लगाउने र सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
निर्णयबारे लेखकले भनेका छन्, “कार्यसम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२)बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ, नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप कांग्रेस संसदीय दलका सांसदहरूलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।”
यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । राष्ट्रपति निर्वाचनसँगै तत्कालिन सत्ता गठबन्धन भंग भएको थियो । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएका थिए । सरकार साझेदार दलहरु बाहिरिएसँगै संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
वि.सं.२०७९ चैत ५ आइतवार १३:२० मा प्रकाशित
























