काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरीएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई आफुहरुको राजीनामा बुझाएका हुन् ।
प्रदेश सभालाई सम्बोधन गर्दै थपलियाले एमालेले अब प्रदेश सरकारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । साथै उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताए ।
यसअघि पुष २६ गते नेकपा माओवादी केन्द्र, एमाले, राप्रपा मिलेर बनेको सरकारले माघ ११ गते मन्त्रिमण्डल विस्तार गरेको थियो । जसमा एमालेबाट चारजना मन्त्री बनेका थिए । थपलिया आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए ।
नयाँ राजनीतिक सत्ता समिकरण भएसँगै गत फागुन १३ गते राप्रपाले सरकारबाट बाहिरीदैं मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेललाई दिएको समर्थन फिर्ता लिएको थियो ।
राप्रपा सरकारबाट बाहिरीएसँगै मुख्यमन्त्री जमकट्टेलले आज दोस्रोपटक विश्वासको मत लिने भएका छन् । उनलाई नेपाली कांग्रेसका सांसदहरुले विश्वासको मत दिनेछन् ।
वि.सं.२०७९ चैत १० शुक्रवार १४:४९ मा प्रकाशित






























