
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा सिके राउत नेतृत्वको पार्टीमा प्रवेश गरेका छन् ।
कुशहावाले बुधबार रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका थिए ।
बारा २ बाट जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा जनमत पार्टीका तर्फबाट कुशहावा उम्मेदवार हुने निश्चित भएको छ ।
२०६४ मा संविधान सभा सदस्यमा निर्वाचित भएका कुशहवा गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा २ मा रामसहाय यादवबाट पराजित भएका थिए । कुशहावा जनमत पार्टीका तर्फबाट सोहि क्षेत्रमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।
यसअघि सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सिके राउतबाट पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट निर्वाचन लड्ने तयारीमा छन् । बारा २ मा कुशहावा र उपेन्द्र यादवबीच प्रतिश्प्रर्धा हुने देखिएको छ ।