काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेट्न उनकै घरमा पुगेका छन् । आइतबार धनगढी गएका प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ। भट्टसँग समसामयिक विषयमा छलफल गरेको प्रचण्डले बताएका छन् ।
भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । “यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ, त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ”, सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।
लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको जानकारी प्रचण्डले दिए ।
भट्टले कुनै पनि राजनीतिक विषयमा कुराकानी नभएको बताएका छन् । माओवादीमा फर्किने विषयमा छलफल भएको हो भन्ने पत्रकारको जिज्ञासामा भट्टले भने, “यो त अलग विषय हो। त्यो विषयमा हामीबीच अहिले कुनै छलफल नै भएन। त्यो अहिले सम्भावना पनि छैन।”
भट्ट पूर्वमाओवादी नेता हुन् । भट्ट माओवादीमा स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए । नेकपा विभाजनपछि भने उनीहरूबीचको सम्बन्ध टाढिएको थियो । भट्ट नेकपा भंग भएपछि माओवादी नेकपा एमालेतिर लागेका थिए ।
तत्कालिन माओवादीभित्र भट्ट प्रचण्ड निकट मानिन्थे । भट्ट एमालेतिर लागेपछि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले आफूलाई रातभर निद्रा नलागेको बताएका थिए ।
वि.सं.२०७९ चैत २६ आइतवार १२:३१ मा प्रकाशित






























