
काठमाडौं । पछिल्लो समय विदेशी सम्बन्धमा सञ्चालित शिक्षण फस्टाउन थालेका छन् । विश्वका विभिन्न विश्वविद्यालयका नाममा खोलिएका त्यस्ता शिक्षण संस्था वर्षेनी बढ्दो क्रममा छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार हाल त्यस्ता शिक्षण संस्थाको संख्या ८७ पुगेको छ ।
मन्त्रालयले जनाएअनुसार अघिल्लो वर्षसम्म त्यस्ता शिक्षण संस्था जम्मा ८३ थिए । तर, चालु आर्थिक वर्षमा मात्रै थप चार वटा शिक्षण संस्था थपिएका हुन् । मन्त्रालयका उपसचिव शंकर अधिकारीले बताएअनुसार थप केही सम्बन्धको पाइपलाइनमा छन् ।
विदेशी सम्बन्धमा सञ्चालित शिक्षण संस्था प्रायजसो काठमाडौं उपत्यकामै केन्द्रीत छन् । सम्बन्धको अनुमति लिएका ८७ शिक्षणसंस्थामध्ये २४ वटा मात्रै उपत्यका बाहिर सञ्चालित छन् । उपत्यका बाहिर पोखरा, बिराटनगर र चितवनमा त्यस्ता शिक्षण संस्था खुलेका छन् ।
सञ्चालनमा रहेका शिक्षण संस्थामध्ये धेरैजसो क्याम्ब्रिज विश्वविद्यालय, बेलायतबाट सम्बन्ध लिएका छन् । क्याम्ब्रिज विश्वविद्यालयको नाममा मात्रै २९ वटा शिक्षण संस्था सञ्चालनमा छन् । उनीहरुले ए लेभल नामका कार्यक्रमहरु सञ्चालन गर्न अनुमति लिएका छन् ।
क्याम्ब्रिज विश्वविद्यालयपछि लिंकन विश्व विद्यालय, मलेशियाको नाममा धेरै शिक्षण संस्थाले शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । जुन विश्वविद्यालयको नामबाट नेपालमा ११ वटा शिक्षण संस्था सञ्चालनमा छन् ।
लिंकन विश्वविद्यालयअन्तर्गत सम्बन्धन लिएका शिक्षण संस्थाहरुले बिबिए, एमबिए, बिआईटिलगायतका कार्यक्रम सञ्चालन गरेका छन् ।
एक वर्षमा बाहिरियो एक अर्ब बढी रकम
विदेशी सम्बन्धनबाट सञ्चालित विश्वविद्यालयले २०७८ चैतदेखि २०७९ चैतसम्म एक वर्षको अवधिमा एक अर्ब २९ करोड बढी रुपैयाँ सम्बन्ध शीर्षकमा विदेश पठाएका छन् । शिक्षा मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त रकम पठाउँदा छ करोड ९७ लाख बढीको टिडिएस सरकारलाई गएको छ । जुन सटहीका क्रममा बुझाइएको हो ।
सबैभन्दा बढी सम्बन्धन शीर्षकमा विदेश पठाउनेमा इस्लिङ्टन कलेज, कमलपोखरी छ । जसले १५ लाख २३ हजार ८३५ पाउण्ड स्टर्लिङ अर्थात् २४ करोड ५८ लाख ७९ हजार रुपैयाँ बढी सम्बन्धन शीर्षकमा पठाएको छ । इस्लिङ्टन कलेजले लण्डन मेट्रोपोलिस विश्वविद्यालयबाट सम्बन्धन लिएको छ ।
इस्लिङ्टन कलेजपछि सबैभन्दा बढी रकम सम्बन्धन शीर्षकमा पठाउनेमा हेराल्ड कलेज, नक्साल छ । जसले १० लाख ८० हजार ५३० पाउण्ड स्टर्लिङ अर्थात् १७ करोड ४३ लाख रुपैयाँ बढी सम्बन्धन शीर्षकमा पठाएको छ । हेराल्ड कलेजले बेलायतको वेल्भर ह्याम्पटन विश्वविद्यालयबाट सम्बन्धन लिएको छ ।
शिक्षा मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सबैभन्दा बढी सम्बन्धन शीर्षकमा विदेश रकम पठाउनेमा नामी इन्सीच्यूड, किङ्ग्स कलेज, इन्र्फमेटिक कलेज, इटहरी इन्टरनेशनल कलेज, सफ्टवेयर कलेज अफ आइटी एण्ड इकमर्श, प्रेसिडेण्टल बिजनेस कलेज, ब्रिटिश कलेजलगायत छन् ।