काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवी लामिछानेले सांसद ढाका कुमार श्रेष्ठको अडियोलाई चुनावी हतियार बनाएर प्रहार गरिएको बताएका छन् ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पार्टीका सांसद ढाका कुमार श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले यस्तो बताएका हुन् ।
उनले रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी नभएको र पैसा लिने भन्दा पनि लेनदेनको कुरा मात्र गरेको पनि आफुहरुले नसहने भन्दै दोषिलाई कडा भन्दा कडा कारबाही गरिने समेत बताएका छन् ।
‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टि होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ,’ लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि म सँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ । हो, पार्टी नयाँ छ,मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ। अब यसलाई चुनावी हतियार बनाउदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइदै छ। दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु । आज अलि चाँडै सुत्छु । आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ। थप कुरा भोलि ।’
वि.सं.२०७९ चैत २७ सोमवार ०८:२४ मा प्रकाशित






























