काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साबिकका मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार देखिएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले यस्तो बताएका हुन् । उनले रास्वपाले राखेका मागहरु पुरा गर्न प्रधानमन्त्री तयार रहेको पनि बताए ।
“प्रधानमन्त्रीले साविकको मन्त्रालय म दिन्छु भनिसक्नुभएको छ, नीति तथा कार्यक्रम पनि पुनर्लेखन गर्ने भन्नुभएको छ”, बैठकपछि ढकालले भने, “रास्वपाका माग स्वीकार गरेरै आउन भनिसक्नुभएको छ ।”
रास्वपाले गृहमन्त्रालयसहित साबिकका मन्त्रालय खोजेको छ भने नीति तथा कार्यक्रममा पुनर्लेखनको माग गरेको छ ।
गत पुस १० मा एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानसहित गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय लिएको थियो । साथै, रास्वपाले स्वास्थ्य राज्यमन्त्री पाएको थियो ।
तर, माघ १३ मा सर्वोच्चको फैसलासँगै रास्वपा सभापति रवि लामिछाने नागरिकताबिहीन बन्दै सांसद र गृहमन्त्री पदमुक्त भएका थिए भने अन्य मन्त्रीले पनि माघ २२ मा मन्त्रिपरिषद्बाट राजीनामा दिएर बाहिरिएका थिए । रास्वपाले तत्कालिन समय गृहमन्त्रालयमा जोड दिइरहेको थियो ।
सरकारबाट बाहिरिएपनि रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । हालै सम्पन्न उपनिर्वाचनबाट रास्वपाका सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको थियो । प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि सरकारमा जाने वा नजाने भन्नेबारे निर्णय लिन सोमबार बैठक बसेको हो ।
सोमबारको बैठकमा रास्वपाभित्र सरकारको समर्थन फिर्ता लिनेबारे भन्दा सरकारमा सहभागि हुनेबारे छलफल भएको बताएको छ । तथापी, जसबारे रास्वपाले शुक्रबार निर्णय लिने बताइएको छ ।
सम्बन्धित समाचार
रास्वपाद्वारा विभागहरू गठन, कुन विभागको प्रमुखमा को ? (सूचीसहित)
रास्वपाको बैठक, सरकारमा जाने/नजाने विषयमा शुक्रबार निर्णय हुने
वि.सं.२०८० वैशाख १८ सोमवार १६:३१ मा प्रकाशित






























