काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गते बसेको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले रायमाझीले प्रयोग गरेको ‘झड्केलो छोरो टोपबहादुर रायमाझी’ शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को (घ) को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए। एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एक पटक सुनेर निर्णय लिने बताएका थिए।
सोही अनुसार बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको शब्द हटाउन निर्देशन हुन् ।
तिमिल्सिनाले सदस्यहरूले सभामा बोल्दा राष्ट्रिय सभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्थाबमोजिम शिष्ट र मर्यादित शब्दहरू प्रयोग गर्न आग्रह गरेका छन् ।
वि.सं.२०८० वैशाख २६ मंगलवार १२:२७ मा प्रकाशित






























