पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। शुक्रबार कांग्रेस र माओवादीबाट थप चार जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसबाट मन्त्री बनेका जिसीले कृषिकाे जिम्मेवारी पाएका छन् भने बाग्लुङका थापाले उद्योग मन्त्री र तनहुँका आलेले आर्थिक मामिलाकाे जिम्मेवारी पाएका छन् ।
यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जाली भौतिक मन्त्री भएका छन्। गण्डकीमा नेकपा एकीकृत समाजवादीलाई पनि एक मन्त्री दिने चर्चा थियो। राजिव गुरूङ (दीपक मनाङे) मन्त्री हुने चर्चा भए पनि पाण्डेले उनलाई मन्त्री बनाएनन्।
नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथग्रहणसमेत गराइसकेका छन्। गत वैशाख १५ मा नेपाली कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री बने पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन। यसअघि कांग्रेसबाट सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडा मात्रै मन्त्री बनेका थिए।
वि.सं.२०८० वैशाख २९ शुक्रवार १७:१८ मा प्रकाशित






























