
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डसहितका वीभत्स हत्याकाण्डहरूबारे नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बिहीवार स्वतन्त्र सांसद प्रभु साहले गौर हत्याकाण्डबारे सोधेको प्रश्नको जवाफमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले गरेको प्रश्नको जवाफमा विगतमा भएका बीभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।
“चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा बिभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ”, प्रचण्डले भने, “अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइराखेको छ त्यसलाई हामीलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्दछु । मदान–आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ भन्ने ठान्छु ।”
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो । यस्तै, दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो ।
तर, दुवै घटनाको हालसम्म उचित छानबिन हुन सकेको छैन । जुन निरन्तर प्रश्नका रुपमा उठिरहेको छ ।