
काठमाडौं । नेपालका वरिष्ठ पत्रकार , टेलिभिजन प्रस्तोता तथा लेखक विजय कुमार पाण्डेले बुद्ध एयरबाट काठमाडौंदेखि धनगढीसम्मको यात्राको सस्मरण सुनाएका छन् ।
उक्त यात्रामा आफुसँगैको सिटमा बसेकी एक आमाको पहिलोपटकको जहाज यात्राको अनुभव सुनाउँदै उनले ती आमाले सुनाएको कुराले आफु भावुक भएको बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन्–
उनी छेउको सिटमा थिइन् । दुब्लो पातलो थाकेको शरिर । जीवनमा पहिलो पटक हवाइजहाज चढेकी .. ।
बुद्ध एयर २५१ बाट धनगढी जादै । सुरक्षा पेटी लगाउन मसंग सहयोग मागिन् । जहाज टेक अफ गर्ने बेला डराएर मेरा बाया हात जोडले समातिन् । मैले–नडराउन भने ।
त्यो फ्लाइटको एयर होस्टेजको व्यबहार सबै यात्रुप्रति धेरै सहज थियो । मेरो छेउमा बसेकी महिलाका दुबै कानमा उनले आफै कपास हालिन् । पानी खुवाइन् । र,सोधिन्–‘कस्तो छ तपाईलाई ? केही पर्यो भने भन्नुस है ।‘
महिलाले मलाई देखाउदै, विमान परिचारिकालाई जवाफ फर्काइन्– ‘मलाई ठिक छ । यो मेरो छोरा समान हो ।’ उनको आवाज थाकेको थियो । तर स्नेहले भरिएको ।
सात महिना पहिला काठमाण्डौ आएर फर्कन थालेकी रे । उपचार गराउन आएकी । आउदा बसमा आइकी थिइन् । उनको छोरा, सानोतिनो भाडाको जग्गामा गोलभेडा खेती गर्छ । क्यान्सर भन्ने रोग लागेको छ रे उनलाई । शरिर धेरै थाकेको छ …. ।
कुन्नी किन हो, उनका कुरा सुनेर मेरा आँखा रसाए । जीवनमा कहिलेकाही म आफुलाई धेरै विवश महसुस गर्छु । त्यो दिन पनि त्यस्तै महसुस भयो । एक छिनपछी उनी निदाइन् । मैले आफ्नो पर्स खोले । खासै पैसा त थिएन । जेजति थियो, मैले चुपचाप उनको ब्याग खोलेर हाले ।
मैले उनको ब्याग खोल्दै गर्दा, उनले आंखा खोलिन् । मलाई हेरिन् । बोलिनन केही । मैले भने ‘छोराले दिएको मज्जाले लिँदा हुन्छ आमा ! अप्ठ्यारो मान्नु पर्दैन ।‘
उनले दुई हात जोडिन् । मलाई नरमाइलो लाग्यो – ‘हात नजोडनुस् आमा । आशिर्वाद दिनुस् । धन्य हुनेछु ।‘
विमान धनगढीमा अवतरण गर्ने बेला हुदै थियो । मेरो पछाडी, लास्टको सिटमा बसेको एउटा प्यासेन्जेरलाई वाकवाक हुदै थियो । एयर होस्टेजले उसलाई कुनै अप्ठ्यारो नमानी ‘सिकनेस ब्याग’ दिइन्,सहज मुद्रामा सहयोग गरिन् ।
उनी त्यही एयर होस्टेज थिइन्, जसले मेरो सिट छेउमा रहेकी महिलालाई आफ्नै हातले कानमा कपास हाली दिएकी थिइन् ।
। मलाई उनीप्रति सम्मान जाग्यो । मैले उनलाई भने – यु आर गुड उनी मुस्कुराइन्, बोलिनन केही । म उनलाई बिर्सन चाहन्नथे ।
उनको नेमप्लेट पढे । त्यहाँ लेखिएको थियो – एस. चन्द ।
फर्कने बेला मैले सुर्खेतबाट प्लेन समाते । संयोग – जहाजको ढोकामा स्वागत गर्ने ठांउमा, उनी नै थिइन् । यसपटक ढोकामै बोलिन् – ‘म तपाईलाई अस्ति पनि भन्न चाहन्थे । मेरा बुवा तपाईका कार्यक्रम कहिलै छुटाउनु हुन्नथ्यो । मैले तपाईलाई बाल्यकालदेखी देखेको छु ।’
उनी छेउको सिटमा थिइन । दुब्लो पातलो थाकेको शरिर । जीवनमा पहिलो पटक हवाइजहाज चढेकी .. @AirBuddha 251 बाट धनगढी जादै । सुरक्षा पेटी लगाउन मसंग सहयोग मागिन । जहाज टेक अफ गर्ने बेला डराएर मेरा बाया हात जोडले समातिन । मैले– नडराउन भने ।
त्यो फ्लाइटको एयर होस्टेजको व्यबाहर सबै… pic.twitter.com/AQFDMuoOFq
— Vijay Kumar Panday (@Vijaykumarko) May 21, 2023