
काठमाडौं । सेयर बजार विस्तारै बढ्न थालेको छ । केहि दिनदेखि बजारमा सकारात्मक संकेत देखिएको छ ।
सेयर बजार गत साताको मंगलबारदेखि नै उकालोमा छ । योबीचमा ६२ अंकको बृद्धि भएको छ ।
गएको मंगलबार ३.३१ अंकले बढ्दै बजारमा सकारात्मक संकेत देखिएको थिथो । त्यसयता दुई दिन (बुधबार र बिहीबार) बजारमा दोहोरो अंकमा उत्साह ल्याउने गरी बृद्धि भयो । बुधबार २३.४० अंकले बढेको बजार बिहीबार ३२.३० अंकले बढेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार पनि यसअघिका दिनलाई पछ्याउँदै बजार बढेको छ । आइतबार ५.८९ अंकले बृद्धि हुँदै बजार १८८३ को अंकमा उक्लिएको छ । आइतबार अधिकांश उपसमूहमा सकारात्मक संकेत देखिए ।
आइतबार कारोबार रकम पनि यसअघिका तुलनामा उत्साह जगाउने खालको देखिएको छ । आइतबार लामो समयपछिकै सबैभन्दा बढी एक अर्ब ६० करोड बढीको कारोबार भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गर्दा त्यसको प्रभाव बजारमा परेको कतिपयको विश्लेषण छ । तथापी, बजारमा हालसम्मको ट्रेण्ड कायमै रहन्छ वा रहन्न अन्योल देखिन्छ ।