काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ को २३औँ संस्करणअन्तर्गत ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी भदौ १८ गते आयोजना हुने अवार्डका लागि मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै उत्कृष्ट पाँच खेलाडीको नामावली सार्वजनिक गरेको हो ।
यस पटकको पिपुल्स च्वाइस विधाको मनोनयनमा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आट्र्स (एमएमए) का रवीन्द्र ढाँट पर्न सफल भएका छन् । वर्षभर पाएको सफलता र चर्चाका बाबजुद ओझेलमा परेका तथा नेपाली खेलकुद वृत्तमा थप चर्चा पाऊन् भन्ने उद्देश्यले खेलाडीहरूलाई मनोनयनमा समेटिएको मञ्चले जनाएको छ ।
मनोनयनमा परेकी भलिबलकी उदीयमान शक्तिशाली स्पाइकर मीना सुनारले काभा महिला च्याम्पियनसिपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी काभा महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबबाट तेस्रो, एभरेस्ट भलिबल क्लबकी कप्तान, तथा काभा यु–१९ मा उपविजेता र यु–२० मा तेस्रो स्थान हासिल गर्ने टोलीकी सदस्य हुन् । त्यस्तै, एसियन कप छनोटमा उच्च प्रदर्शन गरेकी फुटबलकी पूजा रानाले भुटान र बाङ्गलादेशका व्यावसायिक लिगमा समेत आफ्नो प्रभाव जमाइसकेकी छन् ।
करातेकी सानुमाया थिङले विश्व कराते च्याम्पियनसिपको एकल कातामा छनोट चरण पार गर्नुका साथै २१औँ एसियन करातेमा काँस्य पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन् । उनी दक्षिण एसियाली करातेकी स्वर्ण र रजत पदक विजेता हुन् । क्रिकेटका शेर मल्लले आईसीसी टी–२० विश्वकपको डेब्यु खेलमै पहिलो बलमा विकेट लिएका थिए भने एसियन गेम्स क्वालिफायर र नेपाल प्रिमियर लिग (एनपीएल) मा महत्वपूर्ण प्रदर्शन गरेका थिए । ‘बझाङका बाघ’ नामले परिचित एमएमए फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर हुन्।
यसैबीच, मञ्चले डिजिटल भोटिङ पार्टनरको रूपमा सेवाप्रदायक कम्पनी ‘खल्ति बाइ आइएमई पे’ सँग सम्झौता नवीकरण गरेको छ । पिपुल्स च्वाइस विधाको विजेता चयनमा डिजिटल वालेट ‘खल्ती’ मार्फत प्राप्त मतको ५० प्रतिशत मत भार रहनेछ । बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल (फेसबुक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मतका आधारमा गणना गरिनेछ ।
पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । गत वर्ष यस विधाको उपाधि भलिबलका हिमाल सुनारीले जितेका थिए । कुल नौ विधामा प्रदान गरिने यस पटकको स्पोट्र्स अवार्डमा वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवा विधाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँसहित ट्रफी प्रदान गरिने मञ्चका महासचिव अञ्जन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०८३ साउन ३१ आइतवार १७:३६ मा प्रकाशित






























