back
CTIZAN AD

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

वि.सं.२०८३ साउन ३१ आइतवार

12 

shares

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक प्रविधिको प्रयोग बढ्दै गएसँगै जटिल उपचारलाई थप सटीक, प्रभावकारी र सुरक्षित बनाउने सम्भावना बढेको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भारतको नयाँदिल्लीस्थित Indraprastha Apollo Hospitals का प्लास्टिक, कस्मेटिक तथा रिकन्स्ट्रक्टिभ सर्जरीका वरिष्ठ परामर्शदाता डा. कुलदीप सिंह र जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. अरुण प्रसादले प्लास्टिक सर्जरी, रोबोटिक सर्जरी तथा एआईमा भएको पछिल्लो प्रगतिबारे जानकारी दिएका हुन्।

डा. सिंहका अनुसार पछिल्लो एक दशकमा प्लास्टिक सर्जरीको दायरा र उपचारबाट प्राप्त परिणाममा उल्लेखनीय सुधार आएको छ। अहिले प्लास्टिक सर्जरी सौन्दर्य उपचारमा मात्र सीमित नरही दुर्घटना तथा आघातपछि गरिने पुनर्निर्माणात्मक शल्यक्रिया, क्यान्सर उपचारपछि अंग तथा तन्तुको पुनर्निर्माण, जन्मजात समस्या सुधार तथा विकृतिको उपचारसम्म विस्तार भएको छ।

विशेषगरी जटिल शल्यक्रियामा रोबोटिक प्रविधिले चिकित्सकलाई उच्चस्तरको सटीकता र नियन्त्रण प्रदान गर्ने अस्पतालले जनाएको छ। एआईमा आधारित उपकरणले रोग पहिचान तथा निदानलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग गर्ने तथा उपचारपछि बिरामीको स्वास्थ्यलाभको समय र सम्भावित जटिलता घटाउनसमेत योगदान पुग्ने बताइएको छ।

अस्पतालका अनुसार गम्भीर रूपमा जलेका बिरामीको उपचारमा समेत पछिल्ला वर्षमा उल्लेखनीय प्रगति भएको छ। शरीरको ठूलो भाग जलेका बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउन सके जीवन बचाउनुका साथै शरीरको स्वरूप, कार्यक्षमता र जीवनस्तर पुनर्स्थापित गर्न सकिने चिकित्सकहरूले बताएका छन्।

डा. सिंहले प्लास्टिक सर्जरीमा भएको प्रगतिले विगतमा उपचार गर्न कठिन वा असम्भव मानिएका धेरै स्वास्थ्य समस्याको व्यवस्थापन सम्भव बनाएको बताए। बिरामीले आफ्नो समस्याअनुसार उपलब्ध उपचारका विकल्पबारे सही जानकारी लिएर समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै, डा. अरुण प्रसादले रोबोटिक सर्जरी र एआई प्रविधिले चिकित्सा सेवाको दायरा थप फराकिलो बनाउँदै गएको बताए। जटिल शल्यक्रियाका क्रममा रोबोटिक प्रणालीले चिकित्सकलाई उच्च सटीकता र नियन्त्रण दिनुका साथै एआईमा आधारित उपकरणले रोग पहिचान र निदानमा सहयोग पुर्‍याउने उनले बताए।

अपोलो अस्पतालले नेपालका बिरामीलाई अन्तर्राष्ट्रियस्तरको आधुनिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ परामर्श तथा अत्याधुनिक उपचार प्रविधिबारे जानकारी गराउँदै आएको जनाएको छ।

अस्पतालका अनुसार सन् १९८३ मा स्थापना भएको अपोलो समूहले भारतमा स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ। समूहअन्तर्गत विभिन्न अस्पताल, फार्मेसी, क्लिनिक, डायग्नोस्टिक सेन्टर तथा टेलिमेडिसिन सेवा सञ्चालनमा छन्। रोबोटिक सर्जरीमा पनि अस्पतालले आधुनिक प्रविधिको प्रयोग गर्दै आएको छ।

वि.सं.२०८३ साउन ३१ आइतवार १७:४९ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...