
जुन अवस्थामा त्रिभुवन विश्वविद्यालय छ, यही अवस्थामा यो अगाडि बढ्न सक्दैन । यदि यसलाई जीवित र क्रियाशिल बनाउने हो भने यसको पुनर्संरचना अनिवार्य छ । स्थापित यसको ब्राण्डलाई जोगाउँदै समयको मागअनुसार यसको पुनर्संरचना हुनुपर्छ ।
विद्यार्थी संख्या बढी भयो । नियन्त्रण र व्यवस्थापन कठिन भयो । भद्रगोल भयो । शिक्षक, कर्मचारी, विद्यार्थीको राजनीति अती भयो । बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गयो । परीक्षा लिएर त्यसको नतिजा एक वर्षसम्म दिन नसक्ने भयो । आफ्नै शिक्षक र कर्मचारीलाई परिचालन गर्न नसक्ने अवस्था सिर्जना भयो । त्यसो हुँदा यसलाई जीवित र क्रियाशिल विश्वविद्यालय बनाई रहन पनि पुनर्संरचना जरुरी भयो ।
भएको विश्वविद्यालय टुक्र्याउनु वा विभाजन गर्नु वा अलग निकाय बनाउनु राम्रो होइन तापनी गर्नुपर्ने छ । वर्षायाममा च्याउ उम्रे झैँ अरु विश्वविद्यालय खोल्नुभन्दा त्रिभूवन विश्वविद्यालयलाई नै देशको भूगोलअनुरूप हुने गरी पुनर्संरचना गर्नु उपयुक्त हुन्छ । देशको आवश्यकताअनुसार प्राविधिक, विशिष्टिकृत र सामान्य जनशक्ति उत्पादन गर्ने गरी क्षेत्रीय वा प्रादेशिक त्रिभूवन विश्वविद्यालयकै नामबाट संचालन गर्न सकिन्छ । मिलेन भने अलग क्षेत्रीय तथा प्रादेशिक विश्वविद्यालयका रूपमा यसलाई पुनर्संरचना गर्नुपर्छ ।
पूर्वको भूगोल, मध्यतराईको भूगोल, काठमाडौं आसपासको भूगोल, पोखरा आसपासको भूगोल, दाङ र त्यसको आसपासको भूगोल तथा सुदूरपश्चिमको भूगोललाई समेट्ने गरी कम्तिमा ६ विश्वविद्यालय बनाउन सकिन्छ । यसो गर्दा एउटा ब्राण्डको रूपमा विश्वभर चिनिएको विश्वविद्यालयलाई न्याय गरेको ठहरिन्छ । भएको स्रोत साधन पनि परिचालन हुन्छ । यसको भीमकाय संरचना पनि चुस्त हुन्छ । माथि उल्लेख्य गरेका समस्या धेरै हदसम्म न्यूनीकरण हुन्छन् ।
समस्या के आउन सक्छन् ?
पुरानो मनोवृत्तिका शिक्षक कर्मचारीलाई तह लाउने कुरामा समस्या आउन सक्छ । राजनीति संलिएको छैन । त्यसले गिजोल गाँजोल गर्न सक्छ । एकै पटक देशभर ६ ठाउँमा विश्वविद्यालयको संरचना र सोहीअनुरूपको जनशक्ति व्यवस्थापन गर्न केही कठिन हुनसक्छ । आर्थिक समस्या आउन सक्छ । पुराना शिक्षक कर्मचारीको पेन्सन कसले दिने भन्ने समस्या आउनसक्छ । त्यो दायित्व नेपाल सरकारले लिनुपर्छ । यो काम गर्न केन्द्रिय सरकार, प्रदेश सरकारले सहयोगी भूमिका खेलेमा वा त्रिभूवन विश्वविद्यालय आफै सक्रिय र नेतृत्वदायी भूमिका खेलेमा सम्भव छ ।
उपलब्धि के हुन्छ ?
त्रिभूवन विश्वविद्यालयको पहिलेकै हैसियत÷शाख कायम हुन्छ । शैक्षिक कभरेज देशभर कायम भइरहन्छ । भीमकाय संरचनाको कारण अस्त व्यस्त बनेको विश्वविद्यालय चुस्त हुन्छ । सानो नै राम्रो तथा सानो नै व्यवस्थित भन्ने कुरा कार्यान्वयनमा आउँछ । त्रिभूवन विश्वविद्यालयले देशको आवश्यकता अनुरूप प्राबिधिक, साधारण वा अन्य विशिष्टिकृत विश्वविद्यालय बनाउन सक्छ ।
तोकिएको भूगोललाई समेटेर अहिलेकै आङ्गिक क्याम्पसमार्फत चिकित्सा, वन, इन्जिनियरिङ, कृषि, व्यवस्थापन, कानुन, शिक्षालगायतका संकाय चलाउन सक्छ । त्यसो नगरी अलग–अलग संकायका अलग–अलग विश्वविद्यालय चलाउन पनि सकिन्छ ।
जे जसरी गरे पनि हुन्छ तर गर्नुपर्छ । एउटा जीवित र कृयाशिल विश्वविद्यालय बनाउन पनि यो काम नगरी हुन्न । गर्ने आँट हुने हो/होइन ? तर गर्न चाहिँ जरुरी छ ।