काठमाडौं । नेपाल वनस्पती घिउ–तेल उत्पादक संघले वनस्पति घिउ–तेलमा लगाएको भन्सार शुल्क घटाउन माग गरेको छ ।
संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमा वनस्पति घिउ–तेलको उत्पादन उद्योगीहरूलाई एक प्रतिशत रहेको भन्सार महसुल दरलाई १० प्रतिशत कायम गरेपछि उद्योगीहरूले त्यसलाई घटाउनुपर्ने माग गर्दै आएका छन् ।
कार्यक्रममा नेपाल वनस्पति घिउ तेल उद्योग उत्पादक संघका अध्यक्ष विकास दुगडले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताए । भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिएको अवस्थामा १ प्रतिशत रहेको भन्सार महशुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ ।
यस्तै, नेपाल परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले देशमा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घिउ तेल उद्योगलाई संरक्षण गर्ने गरी भन्सार महशुल घट्नु पर्ने बताए । अहिले मुलुकमा स्वदेशी लगानीका झण्डै २६ वर्षदेखि सञ्चालनमा रहेका २६ वटा वनस्पति घिउ तेल उद्योगहरू छन् । यी उद्योगहरूमा एक अर्ब रुपैयाँ लगानी रहेको छ भने १५ हजार जनाले रोजगारी पाएको उद्योगीहरुको भनाइ छ ।
नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अनुसार भारत सरकारले २०७९ जेठ १० गतेबाट उच्च महँगीको चापबाट उपभोक्ताहरूलाई राहत दिनका लागी खाने तेलको भन्सार महसुल शुन्य प्रतिशत र जिएसटी ५ प्रतिशत मात्र कायम गरेको छ । नेपालमा कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी सरदर २५ प्रतिशत लाग्दा स्वदेशी उद्योगहरूको उत्पादन लागतमा वृद्धि हुन गएको उद्योगीहरुले बताएका छन् ।
वि.सं.२०८० जेठ २३ मंगलवार ०८:२० मा प्रकाशित






























