काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक एन.आई.सी.सी.आई. दिवस २०२३ को घोषणा गरेको छ ।
सो अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको उक्त संस्थाले जानकारी दिएको छ ।
सो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एन.आई.सी.सी.आई. को प्रतिबद्धतालाई जनाउने बताइएको छ ।
सो अवसरमा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रमुख अतिथिको रुपमा द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिएका थिए ।
एन.आई.सी.सी.आईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार ‘एन.आई.सी.सी.आई. दिवस २०२३’ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर पनि प्रदान गरेको छ ।
सो कार्यक्रम उत्सव र आत्मनिरीक्षणको प्रतिक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गरे । यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ ।
बैठकमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एन.आई.सी.सी.आई का अध्यक्ष संजय अग्रवाललाई बधाई ज्ञापनका साथै पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन् । साथै नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापूर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य व्यक्त गरे ।
सो अवसरमा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात, तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अगाडी बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरु आदिलाई इटालीमा बजार प्रवद्र्धन गर्ने साथै इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्ने कुरालाई जोड दिँदै नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिएका थिए ।
वि.सं.२०८० जेठ २३ मंगलवार ०८:२६ मा प्रकाशित






























