काठमााडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणपछि लगानीको वातावरण बनेको र पीपीए तत्काल खुलाउनुपर्ने बताएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको महसुस गरिएको बताएको हो ।
इप्पानले भारतमा विद्युत व्यापार बढाउन विगत केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावाट क्षमताभन्दा बढीका आयोजनाहरुको विद्युत खरिद बिक्री (पीपीए) तत्काल खुउनका लागि प्रधानमन्त्रीमार्फत उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसमक्ष अनुरोध गरेको छ ।
पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रधानमन्त्रीले नै मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएर पीपीए खुला गर्नुपर्ने बताए ।
इप्पानका उपाध्यक्ष मोहन डाँगीले प्रधानमन्धीको भारत प्रमणपश्भात नेपालभित्र विद्युत प्रसारण लाइन निर्माणको लागि एक्जिम बैंक इन्डियाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग गर्न सकिने बताए । आन्तरिक उर्जाको देशभित्रै खपत बढाउने र बाँकी उर्जा निर्यात गर्न उर्जा उद्यमीहरु सरकारको साथमा रहेको इप्पालले जनाएको छ ।
साथै इप्पानले आफ्नो २१औँ वार्षिक साधारण सभा यही जेठ ३२ गते हायात रिजेन्सी होटलमा हुने र उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने जानकारी दिएको छ । साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएकाले निर्वाचन प्रक्रियामा भाग लिनका लागि जेठ २५ गतेभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता लिन सबै उर्जा उद्यमीलाई इप्पानले अनुरोध गरेको छ । साथै हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएको र करिब १ सय ५० पुराना सदस्यहरु नवीकरण भएको इप्पानले बताएको छ ।
वि.सं.२०८० जेठ २३ मंगलवार ०८:३० मा प्रकाशित






























