नवलपुर । नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र नवलपुरले किसानका समस्यालाई लिएर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
महासंघले मौसममा बदली नभएसंगै भएको अनावृष्टिका कारण कृषकहरुको जनजीवन निकै कष्टकर बनेकाले किसानका लागि तत्काल राहत प्याकेजको व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाउनु परेको महासंघका अध्यक्ष हुकुम बहादुर सुबेदीले जानकारी दिएका छन् ।
अध्यक्ष सुबेदीले मौसममा भएको परिवर्तनका कारण श्रमजिवी किसानहरूको उत्पादन न्यून मात्र नभई शतप्रतिशत शून्य हुन पुगेको हुँदा किसानहरूलाई विशेष खालको राहत प्याकेजको तत्काल व्यवस्था गर्न आग्रह गरेका छन् ।‘नेपालको मध्य भु–भाग जिल्ला नवलपरासी (व.सु.पू) देवचुली नगरपालिका मौसम विज्ञान विभागको मौसमी रेकर्ड अनुसार देशकै उच्च तापमान ४४ डिग्री माथि हुँदा किसानको लगानी दिन प्रतिदिन डुब्दै मात्र नभई किसानहरुको दैनिकी जीवन नै अति नै कष्टकर बन्न पुगेको हुँदा ग्रामिण भूगोलमा कृषि कर्मबाटै सुनौलो भविष्य देखेर यही देशको माटोमा होमिएका किसानहरुको आजको दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएको ऋणको नियमित किस्ता र व्याज तिर्न सक्ने अवस्थामा नरहेको तितो यर्थाथ सबै माझ प्रष्टाउँदै तमाम कृषकहरुको सहज जीवनयापन र जीवनार्थ विशेष खालको राहत प्याकेजको तत्काल व्यवस्था मिलाई दिनुहुुन गण्डकी प्रदेश सरकार मुख्य मन्त्रीको कार्यालय समक्ष यो ज्ञापनपत्र पुर्याइदिनुहुन यो ज्ञापनपत्र हस्तान्तरण गर्दछौं ।’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसरी मौसमको कारण निम्तिएका समस्याहरुको कारण वित्तिय संस्थाहरूबाट किसानहरुले लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेकोले तत्काल माग सम्बोधन गर्न आग्रह गर्दै यथाशिघ्र माग सम्बोधन नभए महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
वि.सं.२०८० असार ४ सोमवार १४:०४ मा प्रकाशित






























