काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारले छ महिनाको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यहरुको विवरण सार्वजनिक गरेको छ । सरकार गठनको छ महिना पुगेको अवसरमा बिहीबार विवरण सार्वजनिक गरिएको हो ।
यो अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवम् शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्यहरु सुरुवात भएको सरकारको दाबी छ । सुरु गरिएका कार्यहरु र प्राप्त उपलब्धिले मुलुकलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन सहयोग पुग्ने विश्वास सरकारले देखाएको छ ।
विशेषतः अर्थतन्त्रको सुधार तथा पुनरुत्थान र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्राथमिकताका साथ कदम चालिरहेको सरकारको दाबी छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटब्याज पीडितको सन्दर्भमा ऐन संशोधनदेखि विभिन्न कदम चालिएको विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।
प्रचण्ड एमालेसहितको गठबन्धनको समर्थनमा २०७९ पुस ११ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता प्रचण्डले दुई पटकसम्म संसदबाट विश्वासको मत लिइसकेका छन् । उनले पहिलो पटक पुस २६ मा संसदबाट विश्वासको मत लिएका थिए भने सत्ता गठबन्धन फेरिएपछि दोस्रो पटक चैत ६ मा विश्वासको मत लिएका थिए ।
एमालेसहितका दलहरुको सहयोगमा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्ड, तत्कालिन गठबन्धन विघटनपछि कांग्रेससहितका दलहरुको समर्थनमा सरकारको नेतृत्वमा छ ।
यस्तो छ समीक्षा
वि.सं.२०८० असार १४ बिहीवार १४:०० मा प्रकाशित





























