back
CTIZAN AD

अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

वि.सं.२०८० असार २८ बिहीवार

681 

shares

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनीले तरकारी खेती राजेका छन् ।

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ ।

“दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता रु ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ”, बोहराले भने । उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन् ।

वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो । उसबाटै उनको परिवारको खर्च चल्थ्यो । बोहराले भने, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।”

कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताइन् । “हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।”

बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म रु २७ हजारको आलु बिक्री गरिसकेको उनले सुनाइन । किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए ।

रमादेवीले भनिन्, “अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।”

राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ

मनमती बोहरा ७१ वर्षकी भइन् । उनिलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । “एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाएका थिए तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।” त्यसपछि कहिल्यै आलु नलगाएको उनिले बताइन् ।

यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन् । “हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।” उनिले भनिन् ।

धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । “पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो”,उनिले भनिन, “फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।”

धवलसिंहको परिवारमा अहिले पाँच जना छन् । पाँचै जना आलुकै पछाडि लागिरहेका छन् । दुई वर्ष अगाडिदेखि नै नेपाल आएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । “वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।” उनले भने ।

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए । “कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ”, विष्टले भने, “काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।” आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए । “कृषकले इमानदारिताका साथ काम गरेमा उनीहरुको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।” उनले भने ।

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनले बताए । उनले भने, “हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।”

नेपालमा मजदुरी गर्न पनि पाइन्न

आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्थेे । तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उहाँ पिथौरागढ हानिए । ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा गए ।

काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए । उनले भने , “हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु !” काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बताए । “पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ”, उनले भने, “पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ । पैसाको खाँचो पनि हुँदैन । काम भने शक्तिअनुसारकै हुन्छ ।”

भारतकै पैसाले फेरिएको आनन्दपुर

आनन्दपुरमा ३५ परिवार छन् । ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन् । सानो तिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्छन् । पिथौरागढमा उनीहरु भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्छन् । धनसिंह बोहराले भने “ पिथौरागढमा जति काम ग¥यो, त्योअनुसारको पैसा आउँछ । तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ । यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन ।”

काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उनले बताए । पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ । “पहिले सबैका घरहरू स–साना खरले छाएका थिए । अहिले भने गाउँको रूप नै फेरिएको छ । धेरैले पक्की घर बनाइसकेका छन् । कतिपयका निर्माणाधीन अवस्थामा छन् । घरहरू छरिएका नभएको भए टाढाबाट विछट्टै सुन्दर देखिन्थ्यो होला ।” अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उले बताए ।

पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो । आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उनले बताए ।

 

वि.सं.२०८० असार २८ बिहीवार ११:१४ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...