back
CTIZAN AD

रास्वपालाई पहिचानको समस्या, सधैँ ‘एमाले’ ट्याग

वि.सं.२०८० असार २८ बिहीवार

753 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदनमा प्रतिपक्षको बेन्चमा छ । प्रतिपक्षको बेन्चमा बसेको रास्वपामाथि क्रमशः पहिचानको प्रश्न उठ्न थालेको छ । रास्वपामाथि धेरैको प्रश्न छ– रास्वपा बेग्लै पार्टी कि एमालेको अर्को संस्करण ?

बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पनि पार्टी सभापति रवि लामिछानेलाई धेरै पत्रकारहरुको प्रश्न यही थियो । कतिपयले एमाले हुँदाहुँदै रास्वपा किन चाहियो ? भन्ने कोणबाट पनि प्रश्न तेर्स्याएका थिए ।

रास्वपामाथि निरन्तर एमालेको ‘ट्याग’ लाउँदै आएको छ । पत्रकार सम्मेलनमा मात्रै होइन सदनदेखि विभिन्न ठाउँमा एमालेको ट्याग झुण्ड्याउँदै रास्वपा नेतृत्वमाथि प्रश्न उठ्ने गरेको पाइन्छ ।

सभापति रवि लामिछाने पनि एमालेलाई जोडेर भाष्य निर्माण भएको स्वीकार गर्दछन् । तर, रास्वपाको बेग्लै पहिचान भएको दाबी उनको छ ।

“हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लागेको हो”, लामिछानेले भनेका छन्, “अहिले पनि प्रतिपक्षमा मुद्दा होलान् तर सबै एउटै हुन सक्दैन । जस्तो सांसद विकास कोषको नाम जे दिएपनि हाम्रो आफ्नो अडान छ, एमालेको अडान के हो त ?”

लामिछाने विगतमा माओवादी केन्द्रसँग पनि सहकार्य भएको भन्दै एमालेसँग मात्रै सहकार्य भएको कोणबाट व्याख्या गरिनु गलत भएको बताए ।

तर, भूमिका निरन्तर प्रश्नमा

२०७९ पुस १० को ‘बालकोट सहमति’पछि पुस ११ मा रास्वपा सरकारमा सहभागि भएको थियो । रास्वपाले गृहसहित महत्वपूर्णं तीन मन्त्रालय पाएको थियो । तर, स्वयम् गृहमन्त्री बनेका सभापति लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको फैसलापछि विकास भएका घटनाक्रमसँगै रास्वपा सरकारबाट बाहिरियो । सरकारमा सहभागि भएको ४२ दिनपछि माघ २२ मा रास्वपा सरकारबाट बाहिरिएको थियो । रास्वपा सरकारबाट बाहिरिँदै गर्दा सरकारलाई दिएको समर्थन भने कायमै राख्ने बताएको थियो ।

तर, वैशाख २२ मा रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो । सरकारले भ्रष्टाचारसँग सम्बन्धित फाइलहरु खोल्दै गर्दा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । जब सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय रास्वपाले ग¥यो त्यसयता रास्वपामाथि ‘एमाले’ ट्याग लाग्ने गरेको छ ।

रास्वपा प्रतिपक्षको बेच्नमा पुगेसँगै एमालेको शैलीमा प्रस्तुत हुने र प्रत्येक इश्यूमा एमालेकै भाषामा बोल्ने गरेको देखिन्छ । संसदमा अवरोध गर्नेदेखि संसदमा अडान लिने विषयहरु एमाले र रास्वपाका उस्तै छन् । जसको कारण रास्वपालाई पहिचान छुट्याउन गाह्रो पर्न थालेको हो ।

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई राजनीतिक दलहरुको भूमिका स्पष्ट नहुँदा पहिचानको समस्या उठ्ने गरेको बताउँछन् । आफ्नो एजेण्डा स्पष्ट नहुनु र एमालेको शैलीमा प्रस्तुत हुनुले रास्वपामाथि प्रश्न उठेको भट्टराईको भनाई छ ।

“रास्वपाको एजेण्डा के हो ? स्पष्ट छैन । रास्वपा गणतन्त्रवादी कि राजावादी त्यो पनि स्पष्ट छैन, संसदमा उसको भूमिका पनि फरक नदेखिँदा प्रश्न उठेको हो”, उनले भनेका छन्, “रास्वपाले आफूलाई स्पष्ट देखाउन एजेण्डा स्पष्ट गर्नुपर्छ ।”

वि.सं.२०८० असार २८ बिहीवार १३:५४ मा प्रकाशित