काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारको भ्रमण नगर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
थाइल्याण्ड र म्यानमारमा नेपाली फसेपछि मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो । मन्त्रालयले थाइल्याण्ड र म्यानमारमा आइटी क्षेत्रमा आकर्षक रोजगारी तथा तलब÷सुबिधाको प्रलोभन देखाई नेपालीहरुलाई म्यानमारको कतिपय प्रान्तको म्यावडीमा लगि बन्धक बनाइ अवैद्य काम गर्न बाध्य बनाएको, तलब सुविधापनि नदिएको जानकारीमा आएको जनाएको छ ।
‘यस्तो प्रलोभनमा परी आउने नेपालीहरुलाई गैरकानुनी रुपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानी समेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइनमा ठगीलगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिन आएको छ ।’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरुले आफ्नो उद्धारका लागि नेपालमा आफन्तजन र नेपाली दूतावास बैैकक तथा यांगुनमा सम्पर्क गरेको पनि मन्त्रालयले जनाएको छ ।
‘नेपाली दूतावासहरुले स्थानीय सरकारसँग समन्वय गरी केही संख्याका नेपालीहरुको उद्धार गरिसकेका छन् र थप नेपालीको उद्धारको प्रयास भइरहेको छ । तर म्यानमारको उक्त क्षेत्र द्धन्द्धग्रस्त भएकाले उद्धार गर्न समेत चुनौती पूर्ण रहदै आएको छ ।’ सूचनामा उल्लेख छ ।
मन्त्रालयले त्यसकारण पनि नक्कली रोजगारदाता विज्ञापनहरु प्राय ः सामाजिक सन्जालमा आउने गरेका देखिएकोले यस्ता झुटा आश्वासनमा नफस्न समेत अनुरोध गरेको छ ।
‘साथै विदेशमा रोजगारीका लागि जाँदा पर्यटक भिसामा नगई प्रचलित नेपाल कानुन बमोजिम श्रम स्विकृति लिएर मात्र विदेश जान अनुरोध गरिन्छ । यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धीत कार्यालयहरु त्था विदेशस्थित कुटनीतिक नियोगहरुसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नुहुन र आफैले समेत सम्बन्धीत कम्पनी/रोजगारदाताको बारेमा वेवसाइट/टेलिफोन/इमेलमार्फत सम्पर्क गरी जाँचबुँझ गर्नुहुन अनुरोध गरिन्छ । ’मन्त्रालयले अनुरोध गरेको छ ।

वि.सं.२०८० साउन १३ शनिवार ०८:४० मा प्रकाशित






























