समीप बैरागी, रोल्पा
देख्छु –
चेलीहरुका कोमल हातहरुमा – रङहरुको उत्सव
सोमबारे व्रत बसेकी
बहिनीको चेहरामा–प्यासी चमक
र, सुन्छु –
सुन्दर नाडीहरुमा
रंगिन चुराहरुको–सुमधुर सरगम ।
देख्छु–
कालो पहराको काखीबाट
सुवास छरिरहेको–कुकुम
धर्ति चिरेर हलहलाएको–तामा
र, सुन्छु –
मकै बारीमा तिर्थाबासीको–रोदन ।
देख्छु –
घना जंगलका पत्रहरुमा
रातो च्याउको टिका लाएर उभेको–धुपी सल्ला
अपराधीको बिल्ला भिराइको
निर्दोषी आँखाबाट खसेको आँसु झैँ
पहाडको छाती फोडेर बगेको–सङ्लो झरना
र, सुन्छु –
मौनतालाई खलबल्याउने
टाउको माथि–चट्याङको गर्जन ।
देख्छु–
इन्द्रेणीको चम्किलो पोते
गलामा भिरेर मुस्कुराएको–हिम्चुली
सिहँदरवारको आँखा नपुगेको
दुर्गम सडकको खाल्डोमा
बादलको छाया देखिने–मौसमको आँसु
र, सुन्छु–
टाकुराको ओडारमा
भिर चर्ने च्याखुराको–चिरबिराहट ।
अनि देख्छु –
मेरी आमालाई पनि हरियो साडीमा
त्यसैले मलाई पनि
साउन, हरियो साउन जस्तै लाग्छ ।
तर…
मेरो बुवालाई साउन कसरी कालो भयो
झुसेलकिरा जस्तै किन देखिनुहुन्छ बुवा ?
वि.सं.२०८० साउन १३ शनिवार ०९:३५ मा प्रकाशित






























