निम्बतरु, अर्घाखाँची
मेरो रोशनी नै गुम्नेगरि दियौ आफ्नो रोशनी
तब म जून बराबर पनि उज्यालो रहन सकिनँ
यदि घाम नहुँदो हो त
जूनको उज्यालो अँध्यारोमा खुब देखिन्थ्यो ।
दियौ रङ मेरो अस्तित्व नै छोपिनेगरि
माया दिएर भ्रष्टै पारेजस्तो
बाछिटाले उप्किएको माटे घरको भित्ता
दशैंमा लिपेजस्तो
मेरो मौलिक रङ छोपिनेगरि भर्यौ कृत्रिम रङ
तब म छिर्केमिर्के भएँ
उराठलाग्दो देखिन्छु
रङ मेरो परिचय थियो
जब वास्तविक स्वरुप पुरै छोपिएको छ
मेरो चैतन्य प्रतिबिम्ब हरायो ।
अतिवादीहरुका चपेटामा जब परें
मेरो स्वःधर्म
आत्मनिर्णयको क्षमता
संस्कार र परम्परा भष्म भयो
म कतिखेर कमालकोटि भएँ
मेरो वंशजको रङहरु
अनुवांशिकताको उज्यालो हरायो ।
वि.सं.२०८० साउन १३ शनिवार ०९:३५ मा प्रकाशित






























