दुबई । आगामी ५ मे २०१७ का दिन दुबईको होलीडे ईन होटलको भव्य हलमा एभरेष्ट मिडियाको प्रस्तुती तथा पाल्पाली समाज युएईको आयोजनामा नेपालबाट आउने ३ जना अतिथि कलाकारका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुतीमा नयां बर्ष २०७४ सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । सो कार्यक्रम समाजको दोस्रो बार्षिकोत्सव तथा नयां बर्ष २०७४ को अवसर पारेर गरिने भएको हो ।
उक्त कार्यक्रमका लागि नेपालबाट चर्चित लोकगायक बद्री पंगेनी, लोकगायिका सपना गाहा र नायिका, मोडल तथा नृत्यङ्गना बिना थापा आउने भएको हो । अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको पनि रंगारंग प्रस्तुती रहने छ । जसमा बद्री पंगेनी चौथो पटक आउंदै छन् भने बिना थापा दोस्रो पटक आउंदै छिन् । त्यसैगरी युएईका दर्शकहरुका लागि नौलो चेहराको रुपमा देखिने भएकी छिन्, सपना गाहा ।
यसपालिको कार्यक्रम अन्य कार्यक्रमको तुलनामा फरक खालको हुने भएको छ । युएईको कानुनी प्रक्रियाबाट गर्न लागिएको कार्यक्रममा दर्शकहरुको चाप बढ्ने आयोजकले बताएका छन् । खासगरी दुबईको मुटु मानिने र शुक्रबारे बिदाका दिन नेपालीहरुको जमघट हुने थलो बरदुबई पर्ने भएकाले कार्यक्रम हेर्नेहरुको निकै उत्सुकता देखिन्छ । नेपालबाट आउने अथिति कलाकारहरु पनि आ–आफ्नो प्रस्तुती देखाउनका लागि आतुरमा रहेका छन् ।
“एक्काईसौ शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान” भन्ने नाराका साथ सन् २०१५ मा पाल्पालीवासीहरुको पहलमा स्थापना भएको पाल्पाली समाज युएईले ३ बर्षको अवधिमा पाल्पा जिल्लामा ४ वटा बिद्यालय तथा उद्धार कार्यहरुमा लगभग २३ लाख रुपैयां आर्थिक सहयोग गरेको जानकारी समाजका महासचिव बेदप्रसाद अर्यालले दिएका छन् । उक्त कार्यक्रममा उपस्थित हुनका लागि युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गरिएको छ ।
वि.सं.२०७४ वैशाख १० आइतवार १४:३४ मा प्रकाशित