
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’ को आयोजना गरेको छ । थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ गरि तीन खेल समावेश गरिएको थियो । कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले खेलको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतियोगितामा देशभरका ११२ टिमका ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको पहिलो दुई दिन छनोट चरणका खेलहरु भएका थिए भने अन्तिम दिन गत शुक्रबार फाइनल चरणका खेलहरु भएका थिए ।
प्रतियोगितमा भालोरेन्ट खेलको विजेता टिम ‘नो टक वन्ली किल’ बन्यो भने उपविजेताको स्थान ‘नेफोली’ले प्राप्त गर्यो । त्यस्तै, पब्जीतर्फ ‘अण्डरग्याङ्ग’ विजेता बन्दा ‘माइटी माफिया’ले उपविजेताको स्थान हाँसिल गर्यो । फिफातर्फ ‘नोटोरियर’ विजेता र ‘गोर्खा स्ट्रङ्ग’ उपविजेता बन्यो ।
प्रतियोगितामा सबै बिधातर्फका विजेता टिमहरुले १–१ लाख रुपैयाँ तथा उपविजेता टिमहरुले ३३–३३ हजार रुपैयाँ प्राप्त गरेका छन् । सो प्रतियोगितामा कलेजले विजेता टिमका खेलाडीहरुलाई छात्रावृत्ति पनि प्रदान गरेको छ ।
सो प्रतियोगिताका प्रतिस्पर्धीहरुले प्रायोजकहरु सुविसु केबलनेट प्रा.लि., लेभल अप, खतरा गेमिङ, मरिच क्याफे र द रस्टि स्पोर्टस् बारको तर्फबाट पनि पुरस्कारहरु प्राप्त गरेका छन् ।
प्रतियोगिताबारे आफ्ना धारणा राख्दै कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने, ‘म प्रतियोगिताका विजेताहरुलाई मनैदेखि बधाई ज्ञापन गर्न चाहान्छु, र सम्पूर्ण सहभागिहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।’