काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका परिमार्जित नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले असोज १९ गते अर्थात् आजदेखि २० रुपैयाँको नोटलाई परिमार्जन गरी प्रचलनमा ल्याउन लागेको हो ।
साबिककै आकार तथा रङ्गमा संकेत नम्बर ठ८७ ०००००१ देखि त१८ ९९९९९९ सम्म नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा राष्ट्र बैंकबाट रुपैयाँ २० तुरुन्तै पाइनेछ भन्ने वाक्यांशसहित आज शुक्रबारदेखि प्रचलनमा ल्याएको हो ।
राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । त्यस्तै, गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०७९ लेखिएको छ ।
नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने दुईवटा बाह्रसिंगाको चित्र छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपीज ट्वाइन्टी लेखिएको छ भने बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा एडी २०२३ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।
नोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
यस्तो छ सूचना :

सांकेतिक फोटो
वि.सं.२०८० असोज १९ शुक्रवार १०:५८ मा प्रकाशित






























