कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ र असोज महिनामा प्राकृतिक प्रकोपबाट क्षति व्यहोरेका किसानलाई रु छ करोड क्षतिपूर्ति प्रदान गर्ने भएको छ ।
मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरीबाट क्षति व्यहोरेका किसानका लागि सो बजेट स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । बालीनाली तथा पशुपन्छीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत प्रदान गर्ने उनले बताए ।
प्रवक्ता जिसीका अनुसार बुधवारको बैठकले यही असोज २० गते इजरायलको किबुज अलुमियमा आतङ्ककारी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका कर्णाली प्रदेशका नागरिकका परिवारलाई रु तीन लाखका दरले सहयोग गर्ने घोषणा गरेको छ । साथै इजरायलमा रहेका नेपाली नागरिकको चाँडो उद्धार गर्न प्रदेश सरकारले नेपाल सरकारलाई आग्रह गरेको प्रवक्ता जिसीले बताए ।
रासस
वि.सं.२०८० असोज २५ बिहीवार ०६:५७ मा प्रकाशित






























