नवलपुर । नारायणी नदीमा दुई हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले नारायणीमा रहु फिंगर प्रजातिका दुई हजा माछाका भुरा छोडेको हो ।
केन्द्रीय मत्स्य प्रवद्र्धन केन्द्रले जल तथा जलमा आश्रित भएका समुदायहरुको संरक्षणका लागि नदीमा माछा छोड्ने निर्णय गरेअनुसार नारायणीमा माछाका भुरा छोडिएको केन्द्रका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिए ।
नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरुलाईसमेत ध्यान दिएर माछा नदीमा छोडेको लामिछानले बताए । नारायणी नदीमा केही हजार माछाका भुरा छोड्दैमा माछाको संख्या नबढ्ने भए पनि सानो भए पनि शुभकार्य गरेको उनको भनाई छ ।
माछा धेरै जिवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनु पर्ने भएकाले माछाको संख्या बृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहात दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ ।

नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको बताइएको छ । त्यसैले नेपाल माछामा आत्म निर्भर हुन सकेको छैन । तर माछा उत्पादक किसानले भने नेपालका सबै ठाउँमा सबै सिजमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् ।
नवलपुर मत्स्य व्यवशायिक कृषक समूहका अध्यक्ष इन्द्रमणि भुसालले सरकारले माछा पालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताए । उनले नेपाली माछाको उत्पादनदेखि बजारीकरणसम्म नै समस्या रहेको बताए ।
कुमारवर्ती माछा पालन समूहका अध्यक्ष छविलाल महतोले फर्मालिनमा डुबाएर ल्याएका भारतीय माछासँग नेपाली माछाले प्रतिश्पर्धा गर्न नसकेको बताए ।
सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेशिन, माछालाई चाहिने अक्शिजन, पोखरी खन्न अनुदान दिने गरे पनि त्यो प्रयाप्त नभएको किसानको भनाई छ । नवलपुरमा आवश्यक पर्ने माछा र उत्पादन कति हुन्छ भन्ने एकिन तथ्यांक भने छैन ।
वि.सं.२०८० मंसिर ६ बुधवार १३:५२ मा प्रकाशित






























