डा. विदुर चालिसे, काठमाडौं
‘मेरो राजा !’
पुतलीको पखेंटा हुरी बतास जस्तै हावामा उड्न पो थाल्यो ।
समाउन खोज्नेहरू हैरान भएर चक्रवात खेप्न थाले ।
‘पुरातनवादीहरू थिए, खै ! कता गए !’
‘प्रजातन्त्रवादीहरू थिए, खै ! कता पो लुके !’
‘गणतन्त्रवादीहरू त छँदैथिए, अरे ! कता भासिए !’
प्राचीन महाकवि होमरको गलामा अबरूद्व भएका लयात्मक यिनै ध्वनि लहरका शब्दहरू दीनदुखीका मनमा ढुकढुक गरेर तनाव थपिरहेका थिए । ढुक्ढुकिएको मुटुमा संन्त्रासको ज्वार उम्लिरहेको थियो ।
‘अब नयाँ भेरियन्टको युग रे !’
नयाँ भेरिएन्टको डेंगु पनि आयो, गयो । दुखीहरू बाँचेकै छन् । विविध भेरिएन्टको कोरोना भाइरस आयो, लापत्ता नै भयो ।
निर्धन र बेसहाराहरू होमरका प्राचीन गीतका गाथाहरू सुनेर जीवन धाने कै छन् । अन्धा होमरका गीतका मीठा भाकामा एकदिन भान्सामा ताउलो कन्याइरहेकी तिनै पुतलीले दयाजन लाई सोधिन् ।
‘तपाईको दिन कहिले आउँछ ?’
‘अहिले मेरो दिन ल्याउने भेरिएन्ट जोखिममा छ, पख न !’
‘मेरो भेरियन्ट आयो भने भुत्रो पनि भाँडा माझेर बस्दिनँ !’
पुतली भान्साबाटै फत्फताउन थालिन् । नुन, बेसार, मसला र पानी खोज्दाखोज्दै ताउलो डढेर अँगार भयो । अँगारबाट पुत्पुताएको धुवाँले घाँटी कोक्याउन थाल्यो । रिसको वेगमा बर्बराउन थालिन् ।
‘खै ! झम्पल ल्याउ, पल्टाइदिन्छु !’
दयाजन घोप्टो परेर निलाम्य भए । उनलाई लागेको भेरियन्टको कम्परले जिउ थाक्न थाल्यो । उनी कराउन थाले ।
‘तिम्रो राजा, अब मर्याे !’
वि.सं.२०८० पुस १४ शनिवार ०८:१३ मा प्रकाशित