अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा आइतबार भएको फिप्नाको नवौ महाधिवेशनले सर्बसम्मत रुपमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सिन्धुपाल्चोकमा जन्मिएका नवनिर्वाचित अध्यक्ष गुरुङ द गुरुङ (तमु ) सोसाइटी इंक युएसएका निवर्तमान अध्यक्ष हुन् ।
महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा तुलबहादुर तामाङ, महिला उपाध्यक्षमा ममता राई, क्षेत्रिय उपाध्यक्षमा रामकृष्ण महर्जन तथा महासचिवमा दिपक चौधरीलाई सर्बसम्मत चयन गरेको हो ।
यसैगरी, कार्यसमिति सदस्यमा शान्ति गुरुङ, तिर्थराज लामा र दावा साङ्बु ढोक्प्यालाई सर्बसम्मत रुपमा चुनेको छ ।
फिप्नाले हाल खाली रहेको कार्यसमितिको कोषाध्यक्ष, दुईवटा सचिव, सहकोषाध्यक्ष र एक महिलासहित दुईजना कार्यसमिति सदस्य पछि मनोनयन गर्ने जनाएको छ ।

फिप्नाको सभामुखमा भारती राई र उपसभामुखमा चम्पाकुमारी तामाङ सर्बसम्मत भएका छन् । नवनिर्वाचित सभामुख राई किरात राई सोसाइटी अफ अमेरिकाकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत हुन् । उपसभामुख तामाङ फिप्नाको सचिवमा कार्यरत थिइन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले आदिवासी जनजातिको अधिकार स्थापित गर्नका लागि नेपाल सरकारसँग सहकार्य गर्ने, विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्नका लागि नेटवर्क सञ्जाल विस्तार गर्ने, नेपाललाई चिनाउनका लागि नेपाल डे परेड सँग नै सहकार्य गर्ने वा नेपाली मेला गर्ने भन्ने बारेमा सबै सदस्य संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले फिप्नालाई अझ बलियो बनाउन र आर्थिक सवलीकरणका लागि फन्डरेजिङ कार्यक्रम गर्ने, साथै स्थानिय सरकारसँग पनि सम्बन्ध विस्तार गर्दै सहकार्य गर्न प्रतिवद्दता व्यक्त गरेका छन् ।
त्यस्तै नव निर्वाचित महासचिव चौधरी थारु एष्ड फे्रन्ड्स एशोसिएसनका उपाध्यक्ष तथा फिप्नाका निवर्तमान सहकोषाध्यक्ष हुन् । महाधिवेसनले महासचिवको प्रतिवेदन, अध्यक्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

फिप्नाको नवौं अधिवेसन सम्पन्न गर्नका लागि फिप्नाका सल्लाहकार नविन शेरचनको नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिमा विष्णु राणामगर तथा कृष्णा महर्जन सदस्य रहेका थिए ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमूख नविन शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
(फिप्ना) का निर्वतमान अध्यक्ष राजकुमार विष्टले नवौं अधिवेसन सहमति र सहकार्यमा भएको बताउँदै ऐतिहासिक रहेको बताए । विष्ट हिमाली भेगलाई प्रतिनिधत्व गर्दै फिप्नामा अध्यक्ष भएका थिए । निवर्तमान अध्यक्ष विष्टले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । फिप्नामा १७ वटा जातिय संस्थाहरु आवद्ध छन् ।
वि.सं.२०८० माघ २१ आइतवार १४:१४ मा प्रकाशित






























