back

यस्तो छ मोदीमा माओवादी केन्द्रको प्रतिवद्दता

वि.सं.२०७४ वैशाख २२ शुक्रवार

189 

shares
NTC AD
Global IME AD

२२ बैशाख, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मोदी गाउँपालिकाले मोदी गाउपालिकालाई कृषि, पर्यटन, पूर्वाधार विकास, उर्जा लगायतका क्षेत्रमा मोदीले आफूलाई नेपालकै गाउँपालिकामध्ये अब्बल सावित गर्नसक्ने अवसरको उपयोग गर्न स्थानीयसामु अपिल गरेको छ ।

के छ त अपिलमा ?

 

‘समानता, विकास, रोजगारी र सहकार्यमा हाम्रो आब्हान !

समृद्ध मोदीका लागि हसिँया–हथौडामा अमूल्य मतदान !!

आदरणीय जनसमुदाय,
नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट आज देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी लोकतन्त्रजस्ता युगान्तकारी उपलब्धि हासिल भएका छन् । ठूलो राजनीतिक सङ्घर्ष र अनगिन्ती अभियोगहरुलाई चिर्दै माओवादी केन्द्रले सिंहदरबारमा केन्द्रित भएर बसेको अधिकार जनताको घरदैलोमा ल्याएको छ । जनताको दैलोमा आएको सिंहदरबारलाई कार्यान्यवन गर्न नेपालको इतिहासमै पहिलोपटक स्थानीय सरकारको निर्वाचन बैशाख ३१ गते हुँदैछ ।

अहिलेको स्थानीय तहको निर्वाचन गाबिसको निर्वाचन होइन । बरु, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहितको अधिकार सम्पन्न स्थानीय सरकारको निर्वाचन हो । हामीले कस्तो दल र उम्मेदवार चुन्छौं ? त्यसले नै हाम्रो गाउँपालिकाको भाग्य र भविष्य निर्धारण गर्नेछ । यही यथार्थलाई हाम्रो पार्टीले ‘माओवादी केन्द्रको उपहार ! गाउँ नगरमा सिंहदरबार !!’ नाराको रुपमा अघि सारेको कुरा स्मरण गराउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।
मोदी नेपालका गाउँपालिकामध्ये अत्यन्तै धेरै सम्भावना बोकेको गाउँपालिका हो । कृषि, पर्यटन, पूर्वाधार विकास, उर्जा लगायतका क्षेत्रमा मोदीले आफूलाई नेपालकै गाउँपालिकामध्ये अब्बल सावित गर्नसक्ने अवसर हाम्रासामू छ । बैशाख ३१ गतेको निर्वाचनपछि हाम्रो गाउँपालिका विकासको सम्पूर्ण जिम्मेवारी हाम्रै काँधमा आउने हुनाले मोदीको विकासका लागि गम्भीर भएर सोच्नु हाम्रो अनिवार्य कर्तव्य हो । हामीले विकास र समृद्धिको मार्गचित्र कसरी अघि सार्छाैं ? मोदीको विकास पनि त्यसरी नै हुने निश्चित छ ।
बैशाख ३१ गते निर्वाचित हुने स्थानीय सरकारका मूख्य चार जिम्मेवारी छन्, (१), गाउँपालिकाको पूर्वाधार विकास गर्नु, (२) स्थानीय साधनस्रोत परिचालनको गुरुयोजना निर्माण गर्नु, (३) रोजगारी सिर्जना र जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति गराउनु र (४) स्थानीय कानून र नियमहरुको तर्जुमा गर्नु । यी चार जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गरेर मात्रै हामीले मोदीको मुहार फेर्न सक्छौं । उल्लेखित जिम्मेवारी पुरा गर्न हाम्रा महान् शहिदहरु शम्भु नेपाली, हरिप्रसाद चापागाईं, राजु गिरी, लिलबहादुर घर्तिको बलिदानी र तपाईहरुको अमूल्य सहयोगको स्मरण गर्दै आदरणीय मतदातासमक्ष विकास, समृद्धि, रोजगारी र स्थानीय कानून तर्जुमाका सम्बन्धमा निम्न प्रतीज्ञा गर्दछौं ः
(क) पूर्वाधार विकास ः
(१) ‘गाउँपालिकाको प्रमूख आधार ! आधुनिक विकास र पूर्वाधार !!’ पूर्वाधार विकास सम्बन्धि हाम्रो मूख्य नीति हुनेछ । गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालले जोड्नका लागि चक्रपथ निर्माण गरिनेछ । गाउँपालिकाका भुकताङ्ले, देउपुर, देउराली, क्याङलेसपार, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रेका सडकहरु र वडाभित्रका महत्वपूर्ण सडकहरु कालोपत्रे गरिनेछ । सदरमुकामबाट गाउँपालिका र छिमेकी जिल्लाबाट गाउँपालिका जोड्ने सडकहरुको स्तरोन्नति गरी कालोपत्रे गरिनेछ । सडक सञ्जालले नजोडिएका बस्तीहरुमा नयाँ सडकहरु निर्माण गरिनेछ ।
(२) गाउँपालिकाभित्र रहने सरकारी कार्यालयहरु व्यवस्थित गरिनेछ । गाउँ प्रमूख÷उपप्रमूखको कार्यालय, गाउँपालिका संसद भवन, स्थानीय न्यायिक समितिको कार्यालय, स्थानीय प्रहरी कार्यालय, मालमोत कार्यालय, कर कार्यालय लगायतका कार्यालयहरु निर्माण गरी गाउँपालिकाको कामलाई व्यवस्थित गरिनेछ । त्यसका लागि आवश्यक पर्ने जमिन र स्रोतको प्रबन्ध गरिनेछ ।
(३) गाउँपालिकाका नवजागृत बहमूखी क्याम्पस, नवजागृत उ.मा.वि., पशुपति उ.मा.वि., जननेत्र उ.मा.वि., महेन्द्र शिखरी उ.मा.वि., जनसिद्ध मा.वि., मंगलोदय मा.वि., सरस्वती मा.वि., भूकताङ्ले मा.वि., सेराबेंशी मा.वि., सालिजा मा.वि. (क्याङ), हिमालय मा.वि. लगायतका सबै सरकारी शैक्षिक संस्थाहरुको पूर्वाधार र गुणस्तरमा स्तरोन्नति गरिनेछ । गाउँपालिकामा कृषि, पशु, जडीबुटी र पर्यटन सम्बन्धि अलग्गै कलेज र प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
(४) गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारी तुल्याउन डिमुवामा आधुनिक प्रसुति गृह, आँखा अस्पताल, पातिचौरमा आधुनिक अस्पताल, आयुर्वेदिक औषधालय र चित्रेमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिनेछ । त्यसैगरी महिला सीप विकास केन्द्र, बहुउद्देश्यीय खेलकूद रङ्गशाला, टोल–टोलमा आमा समूह, युवा क्लव र सामुदायिक भवनहरुको निर्माण गरिनेछ । गाउँपालिकाका धार्मिक स्थल, मठ मन्दिर, गुम्बा र धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ ।
(५) गाउँपालिकाका सबै वडाहरुमा आधुनिक पुस्तकालय र सूचना केन्द्रको स्थापना गरिनेछ । गाउँपालिका स्तरमा एक आधुनिक सञ्चार गृह स्थापना गरिनेछ । युवाहरुलाई निशूल्क प्रविधि र सञ्चार तालिमको व्यवस्था गरिनेछ । जनताको घर–घरमा निशूल्क इन्टरनेट सेवा प्रवाह गर्न गाउँपालिकामा आधुनिक इन्टरनेट सेवा प्रदायक संरचना स्थापना गरिनेछ ।
(६) ‘आधुनिक कृषि हाम्रो चाहना ! आत्मनिर्भर जीवनको परिकल्पना !!’ अन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र बजारीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । गाउँपालिकामा बहुउद्देश्यीय कृषि तालिम केन्द्र, खाद्यान्न शित भण्डार, कृषि उपज केन्द्र, डेरी व्यवस्थापन केन्द्र, लप्सी, अलैंची र कफी खेतीको अलग्गै प्रशोधन केन्द्र स्थापना गरिनेछ । स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनलाई गाउँपालिका सरकारले नै खरिद गर्ने व्यवस्था गरिनेछ ।
(७) ‘एक घर, एक धारा ! स्वस्थ जीवन, हाम्रो अभिभारा !!’ नारालाई कार्यान्वयन गरिनेछ । गाउँपालिकाका मूख्य बजारहरुमा हरियाली पार्क निर्माण गरिनेछ । वातावरणमैत्री गाउँपालिका निर्माण हाम्रो गन्तव्य हुनेछ ।
(ख) स्थानीय स्रोतको परिचालन ः
(८) ‘सम्पदाको उपयोग गरौं ! मोदीको मुहार फेरौं !!’ नारा नै स्थानीय साधन स्रोत परिचालनको मूख्य ध्येय हुनेछ । मोदी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाहरु व्यवस्थित गरिनेछ । रति, जरे, पाति र भुरुङ्दी खोलामा लघु जलविद्युत् आयोजना सञ्चालन गरिनेछ, लघु आयोजनाहरुमा जनताको शेयरको व्यवस्था गरिनेछ । ठूला आयोजनाहरुबाट उत्पादित विद्युत औद्योगिक प्रयोजन र खरिदका लागि प्रयोगमा ल्याइनेछ । लघु आयोजनाहरुबाट उत्पादित विद्युतलाई ग्राहस्थ क्षेत्रमा खपत गरिनेछ ।
(९) माटेको ढुङ्गा खानीको दीर्घकालीन संरक्षण र उपयोगको ठोस नीति लिइनेछ । ढुङ्गाको विविध उपयोग र संरक्षणका लागि एक संरचना खडा गरिनेछ । स्थानीय जनताको घरहरु निर्माण गर्दा सहुलियत दरमा ढुङ्गा उपलब्ध गराइनेछ । ढुङ्गाबाट प्राप्त आम्दानी खानी संरक्षण र पूर्वाधार निर्माणमा खर्च गरिनेछ । भौगर्भिक अध्ययन गरी अन्य धातुहरुको खोजी गरिनेछ ।
(१०) पञ्चासे, जलजला, थलथले, हलहले, माटे लगायतका स्थानका जडीबुटीलाई प्रशोधन गरी बजारीकरण गरिनेछ । सत्तुवा, हर्रो, बर्रो, चिराइतो, अमला, बोझो लगायतका बहुमूल्य जडीबुटीहरुलाई औषधिको रुपम प्रयोगमा ल्याउने नीति लिइनेछ ।
(११) भूक्षयबाट मानव बस्ती र खेतीयोग्य जमिनको संरक्षण गरिनेछ । मोदी खोला, रति खोला, जरे खोला, पाति खोला लगायतका खोलाहरुको कटान नियन्त्रण गरिनेछ । थामार्जुङ, देउपुर, देउराली लगायतका पहिरो नियन्त्रण गरिनेछ । गाउँपालिकाका मूख्य खोलाहरुमा खतराको पूर्वसूचक यन्त्र जडान गरिनेछ । पूर्वाधार निर्माण गर्दा भौगर्भिक र वातावरणीय जोखिमको अध्ययन र व्यवस्थापन गर्ने नीति लिइनेछ ।
(ग) समृद्धि र रोजगारी सिर्जना ः
(१२) पञ्चासे, माटे, हलहले, लेसपार, भमरकोट, जलजला र घोरेपानी लगायतका पर्यटकीय गन्तव्यहरु व्यवस्थित गरिनेछ । राम्जा, चित्रे, थामार्जुङ, भूक, देउराली, क्याङ लगायतका होमस्टे व्यवस्थित र आधुनिकीकरण गरिनेछ । पर्यटन प्रवद्र्धनका माध्यमबाट रोजगारी सिर्जना गर्ने नीति लिइनेछ ।
(१३) पञ्चासे, माटे, जलजला, भमरकोट लगायतका स्थानमा केवुलकार लगायतका पूर्वाधार निर्माणको गुरुयोजना तयार गरी योजनावद्ध विकास गरिनेछ । भमरकोट, चित्रे, क्याङ, हलहले लगायतका स्थानमा प्याराग्लाइडिङ व्यवस्थित गरिनेछ । प्राचीन कला र संस्कृतिमा आधारित घरहरु निर्माण गरी पर्यटक आकर्षित गरिनेछ । पर्यटन पूर्वाधारको विकास र होमस्टेको आधुनिककरणबाट हजारौं युवाहरुलाई रोजगारी दिइनेछ ।
(१४) पोखराबाट पञ्चासे हुँदै चित्रे, थामार्जुङ, झिलिबर्याङ, भुक, भमरकोट, लेसपार, हलहले हुँदै कुश्मा जोड्ने पर्यटकीय पदमार्गको आधुनिकीकरण गरिनेछ । लेसपारदेखि सालिजा हुँदै बेनी जोड्ने पर्यटकीय मार्ग व्यवस्थित गरिनेछ । पर्यटकीय गन्तव्यहरुमा सुरक्षाको प्रबन्ध, होटल, होमस्टे लगायतका पूर्वाधार, पर्यटनमैत्री शिक्षा र संस्कृतिको विकास गरिनेछ । पञ्चासेका तालहरुको संरक्षण गरिनेछ । पर्यटकहरुको बसाई लम्बाउन सांस्कृतिक मेला र पर्वहरुको आयोजना गरिनेछ ।
(१५) गाउँपालिकाका सांस्कृतिक सम्पदा र संस्कृतिको संरक्षण गरिनेछ । पञ्चासे, सिद्धको थान, राम्जाको कोट, बाजुङको कोट, देउपुर कोट, भमरकोट लगायतका ऐतिहासिक स्थलहरुलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गरिनेछ । गाउँपालिकाभित्र बोलिने भाषाहरु, खस नेपाली, मगर, गुरुङ भाषा र मौलिक संस्कृतिको संरक्षण गरिनेछ । गाउँपालिकाभित्र सबै भाषा, संस्कृति र ऐतिहासिकता झल्कने विविधतायुक्त संग्रहालय निर्माण गरिनेछ ।
(१६) कृषिको प्रवद्र्धनका लागि ‘कृषिको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण गुरुयोजना’ निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ । धान, अलैंची, कफी, सुन्तला, आलु, लप्सी, अदुवा, प्याज लगायतका अन्न र नगदे बालीहरुको ‘पकेट क्षेत्र’ तोकी गाउँ सरकारले आवश्यक अनुदान दिने नीति लिइनेछ । युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न खाद्यान्न र पशु बीमा, प्राविधिक तालिम, बिउ बिजन र उत्पादनमा पर्याप्त अनुदानको व्यवस्था गरिनेछ । व्यवसायिक कृषकहरुको आवधिक मूल्याङ्कनका आधारमा पुरस्कृत गरिनेछ । पकेट क्षेत्रहरुमा आधुनिक सिंचाईको प्रबन्ध गरिनेछ ।
(१७) ‘जीवन र समृद्धिको आधार ! क्षमता अनुसारको रोजगार !!’ को नीति अबलम्वन गरिनेछ । कृषिजन्य वस्तु, जडीबुटी, ईट्टा, बिस्कुट, सिमेन्ट उत्पादनका सामग्री उत्पादनका लागि स्थानीय उद्योगहरु सञ्चालन गरिनेछ । बनमारा झारबाट इन्धन उत्पादन गर्ने कामलाई जनताकै लगानीमा अघि बढाइनेछ । सञ्चालित उद्योगहरुमा स्थानीय जनताको रोजगारीलाई सुनिश्चित गर्ने नीति अख्तियार गरिनेछ । पूर्वाधार निर्माणका लागि स्थानीय जनशक्तिकै परिचालन गर्ने नीति लिइनेछ ।
(१८) ‘माध्यमिक शिक्षाको लक्ष्य ! प्राविधिक शिक्षा हाम्रो भविष्य !!’ नाराअन्तर्गत माध्यमिक तहदेखि नै कृषि, पर्यटन, प्रविधि र जलस्रोतको परिचालन सम्बन्धि पाठ्यक्रमको निर्धारण गरी प्राविधिक जनशक्ति उत्पादन गरिनेछ । शैक्षिक बेरोजगारीको अन्त्य गर्ने नीति अबलम्वन गरिनेछ ।
(१९) युवाहरुको हित र विकासलाई उच्च प्राथमिकतामा राखिनेछ । १८ वर्ष उमेर पुगेका युवाहरुको अभिलेख सङ्कलन र अद्यावधिक गरिनेछ । स्थानीय आवश्यकताका आधारमा सीपयुक्त तालिमको व्यवस्था गरिनेछ । युवाहरुलाई प्रविधिले दक्ष र शारिरीक र मानसिक रुपमा स्वस्थ बनाउने नीति, कार्यक्रम र योजना अघि सारिनेछ ।
(घ) स्थानीय कानून र नीतिको तर्जुमा ः
(२०) ‘निष्पक्ष न्याय, जनमैत्री प्रशासन ! न्यायमा पहुँच र सुशासन !!’ नै स्थानीय कानून सम्बन्धि हाम्रो नीति हुनेछ । यस नीतिअन्तर्गत स्थानीय न्यायिक समितिलाई साधन स्रोत सम्पन्न तुल्याइनेछ । स्थानीय कानून निर्माण गर्दा संघ र प्रदेशसँग आवश्यक तालमेल र समन्वय गरिनेछ । न्यायमा स्थानीय नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्राकृतिक न्यायका विधिहरु अबलम्वन गरिनेछ ।
(२१) स्थानीय साधन स्रोतहरुको वैज्ञानिक कर दर निर्धारण गरिनेछ । करको दायरा बढाएर करको दर न्यून गर्ने नीति अघि सारिनेछ । करको दर र दायराको आवधिक पूनर्मूल्याङ्कनको नीति अपनाइनेछ । बिलासिता र मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव राख्ने वस्तुहरुको कर अभिवृद्धि गरी अत्यावश्यक र जीवन उपयोगी वस्तुको उपयोगमा सहुलियतको नीति लिइनेछ ।
(२२) स्थानीय न्यायिक समितिको काम, कर्तव्य र अधिकारलाई व्यवस्थित, युगानुकूल र न्यायमैत्री बनाइनेछ । कागजी प्रमाणका आधारमा फैसला गर्ने पद्दतिका अतिरिक्त आम जनताको राय लिने प्रणाली स्थापित गरिनेछ । वास्तविक पीडितले पूर्ण न्याय प्राप्त गर्ने पद्दति सुनिश्चित गरिनेछ ।
(२३) सङ्घ, प्रदेश, जिल्ला र गाउँपालिका बीच कानूनी सन्तुलन र सहकार्यको नीति अबलम्वन गरिनेछ । फौजदारी प्रकृतिका मुद्दाहरु बाहेक अन्य न्याय सम्पादनको काम गाउँपालिकाबाटै निरुपण गरिनेछ । न्याय सम्पादनमा विज्ञहरुको राय लिने व्यवस्था गरिनेछ । मुद्दाको प्रकृति हेरी फैसलाको मिति निश्चित गरी छिटो न्याय दिने परम्परा स्थापित गरिनेछ ।
(२४) स्थानीय साधन स्रोतको परिचालन सम्बन्धि ठोस नीति अघि सारिनेछ । समयमै तोकिएको मापदण्डमा काम सम्पन्न नगर्ने आयोजना, ठेकेदार, उपभोक्ता समिति र कर्मचारीबाट क्षतिपूर्ति भराउने नीति निर्माण गरिनेछ । विकास आयोजनाहरुमा हुने भ्रष्टाचार र प्राकृतिक साधनको अनुचित दोहनको पूर्णतः अन्त्य गर्ने कानून अबलम्वन गरिनेछ ।
(२५) गाउँपालिकाको सामाजिक कल्याणका लागि विशेष कोषको स्थापना गरिनेछ । प्राकृतिक बिपत्तिमा परेका, आर्थिक रुपले बिपन्न, स्वास्थ्य समस्या झेलिरहेका, विभिन्न कारण उद्योग र व्यवसाय चौपट भएकाहरुका लागि उक्त कोष परिचालन गर्ने व्यवस्था गरिनेछ । कोष सञ्चालनका लागि शक्तिशाली संरचना र कानून निर्माण गरिनेछ । स्थानीय तहमा सामाजिक सुरक्षा कोषको प्रबन्ध गरी नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रबन्ध गरिनेछ ।
(२६) गाउँपालिकाभित्र सरकारी बैंकका संरचना निर्माणको कामलाई प्राथमिकतामा राखिने छ । कृषि, पर्यटन, जलविद्युत र आयमूलक कार्यका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिनेछ । उच्च प्राविधिक शिक्षा हासिल गरेका युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरिनेछ । बैंकिङ ब्याज र लगानीको क्षेत्र निश्चित गरी निम्न आय भएका नागरिकको जीवनस्तर उकास्न प्राथमिकता दिइनेछ ।
(२७) दलितहरुको सामाजिक विकास र प्रतिव्यक्ति आय वृद्धिको विशेष योजना अघि सारिनेछ । निशूल्क दलित आवासको संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा ल्याइनेछ, रोजगारीमा दलितहरुको जनसंख्याको अनुपातमा कोटा निर्धारण गरिनेछ । स्थानीय सरकारमा दलित अधिकार समिति बनाई दलित अधिकार र जीवन स्तर उकास्न उक्त समितिलाई पूर्ण अधिकार दिने नीति लिइनेछ ।
(२८) कर्मचारी प्रशासनलाई जनमैत्री र नागरिकप्रति उत्तरदायी बनाइनेछ । प्रशासनिक सेवा प्रवाहमा एकद्वार प्रणालीको विकास गरी जनताले सहजै सेवा प्राप्त गर्ने नीति लिइनेछ । ढिलासुस्ती र दुःख दिने कर्मचारीलाई दण्ड र सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्था गरिनेछ ।
आदरणीय जनसमुदाय,
माथि उल्लेखित प्रतीज्ञा गाउँपालिकाको सत्ता सञ्चालनमा माओवादी केन्द्रका प्रमूख नीति हुनेछन् । गाउँपालिकाले गर्नुपर्ने सयौं अभिभाराहरु यहाँहरुको अमूल्य सुझाव, सद्भाव र सहकार्यका आधारमा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ । मोदी गाउँपालिकालाई समृद्ध तुल्याउन ने.क.पा. (माओवादी केन्द्र) ले गाउँपालिका प्रमूखमा मनबहादुर पौडेल, उपप्रमूखमा गंगा तिमिल्सिना (पौडेल), वडा अध्यक्षहरु (१) चीजकाजी गुरुङ (भुकदेउराली), (२) भीमप्रसाद शर्मा (देउपुर), (३) टेकबहादुर पुन (देउराली), (४) धनबहादुर पुन (क्याङलेसपार), (५) बलराम नेपाली (तिलाहार), (६) जीवनाथ तिमिल्सिना (राम्जादेउराली), (७) जगनबहादुर गुरुङ (चित्रे) लगायत खुल्ला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका उम्मेदवारहरु अघि सारेका छौं ।
माओवादी केन्द्रकै त्याग, सङ्घर्ष र पहलमार्फत् प्राप्त स्थानीय सरकार माओवादीकै उम्मेदवारहरुले विजय प्राप्त गरेर मात्र प्रभावकारी कार्यान्वयन गर्न सम्भव छ । तसर्थ, समृद्ध मोदी गाउँपालिकाका लागि माओवादी केन्द्रका उम्मेदवारहरुलाई गोलाकार भित्रको हसिँया–हथौंडामा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन सम्पूर्ण किसान, मजदुर, महिला, दलित, जनजाति, अल्पसङ्ख्यक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यवसायी, युवा लगायत सम्पूर्ण जनसमुदायमा विशेष अपील गर्दछौं ।’

ने.क.पा. (माओवादी केन्द्र)
निर्वाचन परिचालन समिति
मोदी गाउँपालिका, पर्वत

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ०८:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...