काठमाडौँ । अन्तत : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ ।
आइतबार जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको नेता अशोक राई नेतृत्वको समूहले राईकै नेतृत्वमा जनता समाजवादी पार्टी घोषणा गर्दै संगठनात्मक संरचना समेत गठन गरिसकेको छ ।
विभाजन लगत्तै राईको नेतृत्वमा निर्वाचन आयोग पुगेको सो समूहले जनता समाजवादी पार्टीलाई आधिकारीकता दिन माग गर्दै केन्द्रीय कमिटीमा रहेका ३० जनाको हस्ताक्षरसहित निवेदन दिएको बताइएको छ ।
सो पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई, सहअध्यक्षमा रेणु यादव, उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेका छन् ।
त्यस्तै महासचिवमा मोहम्मद इस्तियाक राई,उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर,कोषाध्यक्षमा वीरेन्द्र महतो रहेका छन् भने केन्द्रीय सदस्यहरूमा आङकाजी शेर्पा,मोहनलाल चौधरी,कृष्णबहादुर धुजु, लाबहादुर तामाङ, राधा तिमिल्सिना, सिमा सिंह,कमला विश्वकर्मा, शोभा बज्राचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल,
मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी माण्डब्य र पिंकीदेवी यादव रहेको बताइएको छ ।
लामो समयदेखि अध्यक्ष यादवको कार्यशैली सन्तोषजनक नरहेको आरोप लगाउँदै आएको राई समूहले अध्यक्षले पार्टीको महाधिवेशनमा विधान विपरित गएर एकलौटी गर्न खोजेको, लामो समयदेखि नेताहरुबीच सहकार्य नभएको, पार्टीभित्र निरंकुश शैली देखिएको, जनमत भएका नेताहरुको सम्मान नगरेका लगायतका कारण पार्टी विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् ।
त्यसैगरी अध्यक्ष यादव पक्षले भने जेठ २८ गतेदेखि जनकपुरमा सुरु हुन लागेको पार्टीको महाधिवेशनमा आफ्नो नेतृत्व असुरक्षित रहेका कारण राई समूहले पार्टी विभाजन गरेको लगायतका आरोप लगाएका छन् ।
वि.सं.२०८१ वैशाख २४ सोमवार ०८:३४ मा प्रकाशित






























