back
CTIZAN AD

केराखेतीबाट रु तीन करोड आम्दानी

वि.सं.२०८१ जेठ २५ शुक्रवार

1.1K 

shares

म्याग्दी (बेनी) । बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गरेका छन् । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गरेका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गरेका छन् ।

यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताए । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उनकोे भनाइ छ । कार्कीले अहिले वार्षिक रु छ लाख बढी आम्दानी हुने गरेको जानकारी दिए ।

कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गरेका छन् । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उनले बताए । “केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ । एउटा बोट लगाएपछि आफैँ घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा रु १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ”, उनले बताए ।

खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आएका छन् ।

बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब दुई सय ५० किसानले छ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिए । उनका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ ।

गत वर्षमा केरा बिक्री गरेर गाउँमा रु तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिए । “गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन”, उनले भने, “उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।”

यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताए । उनका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो ।

गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।

गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ । गतवर्ष नगरपालिकाको रु ११ लाख र किसानको रु ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र आँैजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले रु छ लाख र समुदायको रु छ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताए ।

गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उनको भनाइ छ ।फाइल फोटो 

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:५० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...