back
CTIZAN AD

पर्वतको एउटै पालिकाका किसानले सागसब्जी बेचेरे भित्र्याउछन् पाँच करोड

वि.सं.२०८१ असार ९ आइतवार

2.6K 

shares

लक्ष्मीप्रसाद सापकोटा, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।

जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।

व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए ।

माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ ।

मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ ।

शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब रु एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए ।

यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए ।

शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए। उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर रु दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए ।

घरबाटै बीउ आलुलाई रु दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने । “शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ”, उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए ।
जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।

वि.सं.२०८१ असार ९ आइतवार १२:२२ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...