back
CTIZAN AD

प्रदीप गिरीले बालेको समाजवादको आलोक

वि.सं.२०८१ भदौ ४ मंगलवार

936 

shares

काठमाडौँ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भनेका थिए, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझे जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उनले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । नेपाली समाज अनि राजनीतिमा एउटा कहिल्यै नभिभ्ने ‘दीप’ हो प्रदीप गिरी । समाजवादी चिन्तकको छवि बनाएका प्रदीप गिरीले कहिल्यै लालचको जिन्दगी जिएनन् । कहिल्यै लाभको पद खोजेन् । राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थको भ¥याङ बनाएन् ।

समाज परिवर्तनको एउटा अभियान वा आन्दोलन र राजनीतिलाई फरकफरक आँखाले हेर्ने अनि त्यही आदर्शलाई जिन्दगीको बाँच्ने शैलीमा ढाल्नसक्ने एउटा अलौलिक क्षमता लिएर जन्मिने यस्ता मान्छे जगतमा बिरलै हुन्छन् । समकालीन नेपाली समाज र राजनीतिमा त्यही एउटा दुर्लभ नाम पनि हो, प्रदीप गिरी । विसं २००४ मा सिरहाको बस्तीपुरमा जन्मिएका प्रदीप गिरीका पिता मित्रलाल आफैँ नेपाली काँग्रेसका नेता थिए । बुबाका औँला समाएर उनले यो धर्तीमा आफूलाई उभ्याउन र पाइला चाल्न सिके । बुबाकै दीक्षाले उनीभित्र राजनीतिको चेत पनि उज्यालिइसकेको थियो ।

एउटा राजनीतिक परिवारमै हुर्के बढेका उनले सानै उमेरदेखि राजनीतिक शास्त्रका ठेलीहरूदेखि दर्शनशास्त्रका मोटामोटा किताबहरू कण्ठै पारिसकेका थिए । उनी जन्मिदाको समय राणा शासन थियो । एक सय वर्ष जहाँनीया शासन चलाइसकेको राणाका ती अन्तिम दिनहरू थिए । थिचिएका अनि मिचिएका नेपाली समाज भित्रभित्र राणाविरुद्ध विष्फोटक तयारीमा थियो । यसको परिणाम २००७ फागुन ७ गते नेपालका राजनीतिक दल, दरबार र राणाहरूबीच भएको एउटा समझदारीले देशमा प्रजातन्त्र आयो ।

नेपालमा जन्मिए पनि उनको शिक्षादीक्षा भने भारतमै भएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिको सक्रिय बाटोमा आफूलाई हिँडाउन सुरु गरेका उनी त्यसपछि समाजवादका एक साधकका रुपमा स्थापित भए । भारतमै बसेर राजनीतिमा पाइला सार्दै गर्दा त्यो बेला नेपालमा राजा महेन्द्रले जनताको प्रजातान्त्रिक अधिकारमाथि ‘कु’ गरिसकेका थिए । २०१७ सालदेखि उनले जुन राजनीतिक बाटोमा आफ्ना पाइलाहरू अघि बढाउन खोज्दै थिए, त्यसपछिका ३० वर्षहरू फेरि दरबारसँग लड्दालड्दै बिते । भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनलाई कलिलो दिमागमै छापिसकेका उनलाई पञ्चायतविरोधी आन्दोलनमा अघि बढ्न झन सजिलो भयो ।

समाज परिवर्तनको एउटा अभियान वा आन्दोलन र राजनीतिलाई फरकफरक आँखाले हेर्ने अनि त्यही आदर्शलाई जिन्दगीको बाँच्ने शैलीमा ढाल्नसक्ने एउटा अलौलिक क्षमता लिएर जन्मिने यस्ता मान्छे जगतमा बिरलै हुन्छन् । समकालीन नेपाली समाज र राजनीतिमा त्यही एउटा दुर्लभ नाम पनि हो, प्रदीप गिरी ।

भारतमै पढ्ने बेलामा उनले बिपी कोइरालाको नाम धेरैपटक सुनिसकेका थिए । अरुजस्तै उनको मनमा पनि बिपीको एउटा अलग्गै तस्बिर छापिइसकेको थियो । भारतमै भएको एउटा कार्यक्रममा उनले बिपीलाई भेट्ने मौका पाए । त्यही भेट नै उनको राजनीतिक जीवनको एउटा मोड बनिदियो । त्यही कार्यक्रममा उनले बिपीलाई प्रतिप्रश्न सोधे । हत्तपत्त बिपीलाई प्रतिप्रश्न सोध्ने आँट कसैले पनि गर्दैनथे, यहाँसम्म कि अन्तर्वार्ता लिने पत्रकारहरूले समेत । एउटा कुनाबाट आफूलाई अप्रत्याशित त्यसमा पनि आलोचनात्मक प्रश्न गर्ने त्यो स्कुले ठिटो बिपीको नजरमा परिसकेको थियो । बिपीको त्यही नजर लागेको केटो २०२४ सालमा ‘नेपाल छात्र सङ्घ बनारस’को निर्वाचित उपाध्यक्ष बन्यो । बिपीभन्दा ३० वर्ष कलिला उनका राजनीतिक पाइलाहरू त्यसपछि फटाफट अघि बढ्न थाले ।

नेपाली कांग्रेसभित्र बिपीको राजनीतिक, सामाजिक र साहित्यिक दर्शन अनि सिद्धान्तहरूलाई आलोचनात्मक विवेचना गर्ने सायद उनी एक्लो प्राणी नै होला । र, पनि उनले आफ्नो राजनीतिक जीवनभरि बिपीकै व्यक्तित्व, विचार अनि राजनीतिक सिद्धान्तलाई अपनाइरहे । खासगरी राष्ट्रवादका सन्दर्भमा उनी र बिपीबीच जहिल्यै सैद्धान्तिक र व्यावहारिक मतभेदको खाडल रहिरह्यो । तथापि, बिपीले निर्माण गरेको राजनीतिक सिद्धान्त र क्षितिजबाट प्रदीप कहिल्यै टाढा भएनन् तर कहिल्यै प्रश्न गर्न छोडेनन् । युगभन्दा अलि चाँडै जन्मिएका बिपीलाई सायदै त्यो बेलाको समाजले चिन्यो । त्यस्तो रिक्तता बिपी आफैँले पनि अनुभव गरेको भनेर आफ्ना आत्मकथाहरूमा कताकता उल्लेख गरेका छन् । उनको एउटै चिन्ताको बिषय हुन्थ्यो– शास्त्रीय बहस गर्ने समकालीन नै भएनन् ।

बिपीका अघि सधैंँ छाती तन्काएर उभिने उनी एउटा त्यस्तो तातोरातो युवा थिए, जसले बिपीसँग समाजवादका शास्त्रीय आयामहरूका बारेमा बहस गर्ने हिम्मत राख्थ्यो । अनि राष्ट्रवादका मुद्दामा बिपीसँग सवालजवाफ गर्ने हैसियत राख्थ्यो । बिपीलाई सिधासिधा प्रश्न सोध्न हिम्मत राख्ने उनलाई त्यही निहुँमा बिपीका विरोधी आँखाले हेर्नेहरूको कमी त थिएन तर पनि उनको अध्ययन अनि विश्लेषण क्षमताका अघि ती आलोचना र विरोधी नजरहरू कहिल्यै माथि उठ्न सकेनन् । उनको त्यो क्षमताका अघि ती सबै सधैंँ दबित रहे ।

यो आदत उनको आफ्नो निजी जीवनमा उत्तिकै थियो । जसले आफ्नाबारेमा प्रश्न गर्छ वा आलोचना गर्छ उसलाई नै उनले सधैँ नजिक राखे । अर्थात् न उनी प्रश्न गर्न डराए न आफूमाथि आउने प्रश्नहरूलाई पन्छाएर भागे । त्यही राजनीतिक कुशलता र क्षमताले नै उनी आफ्नो राजनीतिक दर्शनको पथमा सधैँ प्रदीप्त भइरहे । राजनीतिक जीवनका आफ्नै सिद्धान्तहरू हुन्छन् । जिन्दगी बाँच्ने आफ्नै शैली हुन्छ । त्यसलाई जिउने आफ्नै स्वभाव हुन्छ । उनी जीवनभरि त्यस्तै रहे, जस्तो यो समाजले चिनेको प्रदीप थियो ।

उनको एउटा खासियत के पनि थियो भने उहाँले आफू बाँचिरहेको सामाजिक संरचनालाई ठाडै चुनौती दिए । त्यो भनेको उनमा एक प्रकारको बिद्रोही स्वभाव पनि जिउँदो र जाग्दो थियो । यसका कारण उनी परिवार र समाजबाट अलग हुनु परे पनि आफ्नो सिद्धान्तबाट कहिल्यै डग्मगाएनन् ।

एकपटक उनले बिपीलाई एउटा आग्रह गरेका थिऐ– ‘सान्दाजु अब म आफूलाई समाजवादको अध्ययनमा सक्रिय बनाउँछु । समाजवादीहरूसँग सम्पर्क बढाइदिनुप¥यो ।’ बिपीले भारतीय समाजवादी नेताहरूलाई पत्र लेखेरै उनलाई भेट्न र सम्बन्ध बढाउन सहजीकरण गरिदिएका थिए । त्यसबाटै उनीमा समाजवादको ब्याख्या विश्लेषण मात्रै होइन, त्यसको व्यावहारिकीकरणमा पनि आफूलाई अब्बल सावित गरे । यसरी उनी एउटा राजनीतिक व्यक्ति मात्रै नभएर सिङ्गो वैश्विक समाजवादी आन्दोलनका एक प्रणेताका रुपमा आफूलाई स्थापित गरे ।

उनको एउटा खासियत के पनि थियो भने उहाँले आफू बाँचिरहेको सामाजिक संरचनालाई ठाडै चुनौती दिए । त्यो भनेको उनमा एक प्रकारको बिद्रोही स्वभाव पनि जिउँदो र जाग्दो थियो । यसका कारण उनी परिवार र समाजबाट अलग हुनु परे पनि आफ्नो सिद्धान्तबाट कहिल्यै डग्मगाएनन् । उनले सधैँ भन्थे– ‘यो समाज अनि सामाजिक संरचना हामी आफैँले आफ्नो सुविधाका लागि बनाएको हो । र त्यसलाई भत्काउन सक्ने पनि हामी आफँै नै हो ।’ कुनै बेला दलित समुदायका व्यक्तिलाई आफ्नो भान्सेका रुपमा राख्दा उनी परिवारबाटै बहिष्कृत हुनुपरेको थियो । तर उनी कहिल्यै त्यसबाट विचलित ुभएनन् र बरु आफूलाई सधैंँ त्यस्तै दलित, पिछडिएका अनि सिमान्तकृत वर्गकै बीचमा राखे । जीवनको अन्तिमसम्मै उनका सहयोगी त्यस्तै समुदायका व्यक्ति थिए । उनको त्यही अडिग विचारका कारण नेपाली काँग्रेसले आफ्नो समावेशी नीति नै बनायो ‘कदमजम’ । यो नीति नेपाली काँग्रेसले अबलम्बन गर्नुको पछाडि प्रदीपकै योगदान थियो ।

समाजवादपछि उनको अर्को विद्वता भनेको माक्र्सवादको अध्ययन हो । खासगरी कम्युनिष्टहरूले आफ्नो सिद्धान्तको ग्रन्थ नै ठान्ने माक्र्सवादलाई सरलीकृत गर्ने उनले कुनै बेला कम्युनिष्ट स्कुलमा कम्युनिष्टहरूलाई माक्र्सवाद पनि पढाएका थिए । यसकारण उनलाई आदर्श मान्ने कम्युनिष्टहरूको पनि कमी छैन । फरक विचारधार भए पनि उनले मुद्दा मिल्नेहरूसँग सधैँ सम्बन्ध बढाउँदै लगे । चाहे युद्ध गरिरहेको माओवादी होस् वा अधिकारका लागि आन्दोलन गरिरहेको मधेसवादी दलहरू । युद्ध गरिरहेको तत्कालीन माओवादीविरुद्ध सारा रज्यशक्ति र राजनीतिक दलहरूसमेत एकातिर हुँदा प्रदीप एक्लै माओवादीको पक्षमा उभिए । उनले सधैँ माओवादीले उठाएका मुद्दाहरूको सम्बोधन हुनुपर्छ भनिरे । माओवादीलाई संसदीय बाटोमा ल्याउन पनि उनको धेरथोर भूमिका रह्यो । अनि मधेसमा आन्दोलन गरिरहेका तथा उनीहरूले उठाइरहेका मुद्दा र मागका विषयमा पनि उनी आफ्नै पार्टी नेपाली कांग्रेसभन्दा माथि उठेर लडे । मधेसको अधिकारका लागि उनले त्यहाँ संघर्षरत सबै पक्षसँग सम्बन्ध बलियो बनाए ।

विसं २०७२ मा संविधानसभाले संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने एक सांसद उनी पनि हुन् । उनको यो संविधानप्रति सधैँ एउटै मत रह्यो– यो अपुरो संविधान छ । त्यसको संशोधन जरुरी छ । संविधान अझै संशोधन हुन सकेको त छैन तर अब संविधान संशोधनकै लागि सत्तागठबन्धन बनिरहेको यो बखत भने उहाँ हामीमाझ छैनन् । उनले सधै भन्थे–‘जुनसुकै वाद होस् या सिद्धान्त त्यसले अन्ततः जनताको जीवनमा समृद्धि ल्याउनुपर्छ । जनताले त्यो महसुस गरेको दिन सबै सिद्धान्त र वादहरू बराबर हुन्छन् । त्यसैले कसैलाई वाद र सिद्धान्तका आधारमा हेरिनु हुँदैन । बरु मुद्दाका आधारमा उनीहरूलाई आफ्नो पराई सम्झनुपर्छ ।’ बिपीपछि शक्तिशाली सभापतिका रुपमा रहेका गिरिजाप्रसाद कोइरालासँग उनको सधैँभरि मतभेद यही कुरामा रहिरह्यो ।

एउटा कुलीन परिवारमा जन्मिए पनि उनमा न कहिल्यै धन सम्पत्तिको लोभ रह्यो, न त्यसको रवाफ । उनी सधैंँ आफूलाई भूइँमान्छेका रुपमा उभ्याए । भूइँमान्छेहरूसँग रहे । समाजवादलाई आफ्नो आदर्श ठान्नेहरूको सबैभन्दा ठूलो गुण यही नै हो र समाजवादको असली अभ्यास नै यही हो । आफूलाई कहिल्यै बिलासी संस्कारमा नढालेका उनको यही सन्तपन नै आमनागरिकका लागि अनुराग बन्यो ।

पार्टीको नीति र सिद्धान्तभन्दा माथि उठेर ‘गणतन्त्र’को अभियान चलाउन प्रेरित गर्ने उनी कहिल्यै पनि कसैको नियन्त्रित घेराभित्र रहेनन् । आफ्नो ब्रह्म, सिद्धान्त र विचारले जे देख्यो उनले त्यसै गरे । यहाँसम्म कि विचारमा असहमति बढ्दै जाँदा उनी मूल पार्टीबाट अलग पनि भए तर कहिल्यै आफ्नो आत्मसिद्धान्त विपरीत सम्झौता गरेनन् । त्यसैले कतिपयले उनलाई अराजक भनेर पनि आलोचना र टिप्पणी गर्छन् । तथापि उनी आफ्नै स्वभावमा बाँच्ने रमाउने व्यक्तित्व थिए । त्यसैले उनमा कहिल्यै लोभलालच जागेन अर्थात उनले अपनाएको राजनीतिक सिद्धान्तले कहिल्यै पनि लाभको पदमा बस्न सिकाएन । मन्त्री बन्न आएका कतिपय प्रस्तावहरूलाई उनले ठाडै अस्वीकार गरे । कहिल्यै कुनै राजनीतिक भाग खोजेनन् र आफूलाई अनि आफ्नाहरूलाई पनि त्यसका लागि रोजेनन् । तर जनताका कामका लागि भने उनी सधैंँ अघि लागेर खटिए । त्यसैको परिणाम हो उनले चुनावमा भोट माग्न कहिल्यै गएनन् । बरु मतदाताहरू उनलाई भेट्न आएरै शुभेच्छा दिन्थे, अनि चुनावमा भोट हालेर उनलाई जिताउँथे ।

एउटा कुलीन परिवारमा जन्मिए पनि उनमा न कहिल्यै धन सम्पत्तिको लोभ रह्यो, न त्यसको रवाफ । उनी सधैंँ आफूलाई भूइँमान्छेका रुपमा उभ्याए । भूइँमान्छेहरूसँग रहे । समाजवादलाई आफ्नो आदर्श ठान्नेहरूको सबैभन्दा ठूलो गुण यही नै हो र समाजवादको असली अभ्यास नै यही हो । आफूलाई कहिल्यै बिलासी संस्कारमा नढालेका उनको यही सन्तपन नै आमनागरिकका लागि अनुराग बन्यो । आफ्ना आदर्श र सिद्धान्तहरूलाई उनले कतिसम्म व्यवहारमा उतार्थेे भन्ने यो एउटा बलियो उदाहरण हो । आफ्ना सारा सम्पत्तिलाई आफ्नै बस्तीमा आश्रम बनाएर उनले बेसहाराहरूलाई साहार दिने कोसिस गरे । मृत्यु शैय्यामा जीवन चियाइरहँदा पनि धिपधिपारहेको त्यो उनीभित्र उत्तिकै प्रदीप्त ज्योति थियो । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका उनका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । त्यसैले त उनले नदीछेउमा आश्रम बनाए । असहायहरूलाई पढ्न लेख्न सिकाए । जातपातको भाषा कहिल्यै जान्न चाहेन् । सबै मान्छे बराबर देखे । बरु आफूलाई सधैँ फकीर बनाइराखे तर वंश अनि अंशमा कहिल्यै हक खोजेनन् । त्यो आफ्नो निजी जीवनमा पनि होइन र राजनीतिक जीवनमा पनि ।

कहिल्यै उनी सत्तामा जान चाहेनन् । कहिल्यै त्यो चाह वा मोह पनि राखेनन् । राजनीतिक रुपमा एक नेता अनि शासक बन्ने चाहनाबाट उन्मुक्त उनी सधैँ जीवन दर्शनको खोजमै तत्लीन रहे । वंशका लागि कहिल्यै चिन्ता गरेनन् । सम्बन्ध र प्रेमलाई पनि कहिल्यै उनले महत्व दिनुभएन । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका उनका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । अनि अरूका लागि प्रदीप बनेका थिए ।

भौतिक संरचनाको निर्माण मात्रै विकास होइन र त्यसले मात्रै समृद्धि ल्याउँदै भन्ने मान्यता राख्ने उनले विकासे संरचनाहरूले जनताको जीवनमा के चाहिँ परिवर्तन ल्यायो भनेर मूल्याङ्कन गर्नुपर्ने ठाने । उनले विकासे अभियानलाई कहिल्यै समाजवादको जग मानेनन् । अर्थतन्त्रको उदारीकरणसँगै राज्य नागरिकप्रतिको आफ्नो दायित्वबाट बिमुख हुनु हुँदैन भनेर सधैँ खबरदारी गरिरहनुपर्ने उनको मान्यता थियो । यसैलाई लोकतान्त्रिक समाजवादका रुपमा ब्याख्या पनि गर्न सकिन्छ । राजनीतिक, आर्थिक तथा सामाजिक जीवनका दर्शन र सिद्धान्तका ठेलीहरू कन्ठस्थ पारेका उनी कहिल्यै एकाङ्की भएनन् । ज्ञानको भारीले उनलाई कहिल्यै थिचेन बरु उनी चङ्गाजस्तै फुरुङ्ग हुन्थे, भूइँमान्छेहरूसँग रमाउँदा, उनीहरूसँग संवाद गर्दा र उनीहरूका समस्याको समाधान गरिदिँदा ।

उनको जीवनगाथा एउटा सानो आलेखमा अट्ने खालको हुँदै होइन । उनले बाँचेको जीवन अनि उनले अपनाएको जीवनशैलीका फेहरिस्त लेख्ने हो भने त जीवन दर्शनको एउटा सिङ्गो ठेली नै बन्छ । उनी एक नेता मात्रै हैनन्, राजनीतिज्ञ मात्रै पनि हैनन्, उनी जीवनका साधकमात्रै होइन र त्यसका लागि साधना मात्रै पनि गरेनन् । चिन्ता र चिन्तनमात्रै पनि गरेनन् । बरु जस्तो थिए त्यस्तै बाँचीदिए । जस्तो जीवन बाँचे, त्यस्तै विचार निर्माण गरेर गए । एउटा त्यस्तो विचारको बत्ती जलाएर उनी गएका छन्, त्यसले नेपाली समाज र राजनीतिलाई जुगौँजुगसम्म आलोकित बनाइरहनेछ । (लेखक राजनीतिक विशलेषक हुन्)

वि.सं.२०८१ भदौ ४ मंगलवार १४:३२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...