back
CTIZAN AD

छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी

वि.सं.२०८१ भदौ १३ बिहीवार

765 

shares

तनहुँ । जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर परिसरमा करिब दुई सय परिवारले स्वरोजगारी अपनाउँदै आएका छन् ।

गत शनिबार मात्र करिब पाँच हजारको सङ्ख्यामा भक्तजन आउने विश्वास गरिएको यस मन्दिरमा अन्य दिन पाँच/सात सय भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए । उनका अनुसार मन्दिर परिसरमा फूल, पूजाका सामग्री, खाजालगायत व्यापारबाट करिब दुई सय परिवारले रोजगारी पाएका छन् ।

मन्दिर परिसरमा फूलप्रसाद, खाजा र खाना बेचेर आफूहरुको जीविकोपार्जन भइरहेको मन्दिर नजिक व्यापार गर्दै आएकी व्यास नगरपालिका-१२ की २९ वर्षीया सीता सापकोटाले बताइन् । “शनिबार बिदाको दिन भक्तजनको घुइँचो बढी हुन्छ । प्रायः शनिबार बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म व्यापारमा खटिनुपर्छ”, उनले भने, “मन्दिर परिसरमा सञ्चालित व्यापारबाट दैनिक रु एक हजारदेखि रु एक हजार दुई सयसम्म कमाउन सकिएको छ ।”

श्रीमान् रोजगारीको क्रममा कतारमा भएकाले आफूले फूल र प्रसादको मात्रै व्यापार गर्दै आएको सीताले सुनाइन् । श्रीमान्लाई स्वदेश बोलाएर फूलप्रसादका साथै खाजा र खानाकोसमेत व्यापार गर्ने योजना रहेको उनले जानकारी दिए ।

मन्दिरमा आउने भक्तजनको कारण आफूहरुको होटल नियमित सञ्चालन भइरहेको स्थानीय होटल व्यवसायी जानकी कँडेलले बताइन् । पूजा गर्न आउने भक्तजनको घुइँचोले गर्दा आफू र श्रीमान् दैनिक खटिने गरेको उनको भनाइ छ ।

“मन्दिरप्रतिको आस्थाको कारण भक्तजनको सङ्ख्या बढ्दै गएकाले आम्दानी पनि प्रशस्र्तै हुन थालेको छ”, कँडेलले भनिन्, “शनिबार बिदा पर्ने भएकाले बाहिरी जिल्लाबाट पनि भक्तजन आउनुहुन्छ । दिउँसो १ बजेसम्म ग्राहकको घुइँचोले बोल्ने फुर्सदसमेत हुँदैन ।”

अन्य दिन रु तीन÷चार हजारको र शनिबार रु १५/१७ हजारको व्यापार हुने गरेको होटल व्यवसायी कँडेलले जानकारी दिइन् । यहाँ विन्दु सेढाइँ, देवी थापा, कृष्णबहादुर आले, प्रेम आले, पुष्पा कँडेल, शोभा पन्त, विन्दी आले, बद्री पन्थ, धनबहादुर गुरुङ, सरिता पुलामीलगायत दुई सय जनाले फूल, प्रसाद, खाजा र खानाको व्यापार गर्दै आएका छन् ।

मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरी होटल सञ्चालन गरेपछि व्यापार पनि सन्तोषजनक रहेको छाब्दीबाराही विकास कोषकी उपाध्यक्षसमेत रहेकी सुनिता पन्थले बताइन् । आफूले होटल सञ्चालन गर्ने र श्रीमान्ले हलुका सवारीसाधनबाट भक्तजनलाई सेवा दिँदै आएको उनले बताइन् । “भक्तजनको सेवामा हामी दुवै जना दैनिक खटिँदै आएका छौंँ”, पन्थले भनिन्, “खटाइ अनुसारको दुई चार पैसा आम्दानी पनि भइरहेको छ ।”

छाब्दीबाराही मन्दिरको पर्याप्त प्रचारप्रसार हुन नसक्दा देशका विभिन्न क्षेत्रमा रहेका भक्तजनलाई आकर्षित गर्न नसकिएको मन्दिर विकास कोषका अध्यक्ष थापाले बताए । पुरातात्विक सम्पदा संरक्षण हुने गरी मन्दिरको गुरुयोजना बनाउन सके हिन्दू धर्मावलम्बी बढ्ने र स्थानीयको व्यापारको दायरासमेत फराकिलो हुँदै जाने उनले उल्लेख गरे ।

व्यापारमा संलग्न हुनेहरु करिब ७० प्रतिशत महिला रहेका विकास कोषले जनाएको छ । “मन्दिरको पर्याप्त प्रचारप्रसार गर्न सके यहाँका स्थानीयको आयआर्जनको स्रोत बढ्दै जानुका साथै स्वरोजगारका अवसर थप सिर्जना हुँदै जाने थियो”, कोषका अध्यक्ष थापाले भने, “अहिले पनि परम्परागत प्रणालीमा यस क्षेत्रका करिब दुई सय परिवार व्यवसायमा लाग्नुलाई उपलब्धिका रुपमा लिएका छौँ ।”

विसं १८०० सयदेखि पूजा गर्न सुरु गरिएको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका साथ तनहुँका साथै छिमेकी जिल्ला लमजुङ, गोरखा, कास्की र चितवनबाट भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिर विकास कोषले जनाएको छ ।

“किंबदन्ती अनुसार विसं १८०० जेठ ८ गते राति छाब्दी परिसरको गोठमा सुस्ताउँदै गरेका कुलुङ गाउँका जहरसिंह आलेमगर अघिल्तिर एक बालिका आएर आफूलाई बास बस्न र खान दिन आग्रह गरिन् । आफ्नो घर करिब एक घण्टाको दूरीमा कुलुङमा रहेको र गाईभैँसी चराउन आएको आफू गोठमा बसेकाले अन्नपात केही नभएको, बास बस्न दिन नसक्ने भएकाले अन्तै जान बालिकालाई जहरसिंहले आग्रह गरेलगत्तै आफू छाब्दीबाराही देवी भएकाले तल कुण्ड नजिकै शीला भएर बस्ने र आफ्नो दैनिक पूजा गरे मनले चिताएको पूरा हुने बताउँदै ती बालिका अलप भइन् । जहरसिंहले बिहान कुण्ड नजिकै गएर हेरे । नभन्दै त्यहाँ अलौकिक स्वरुपमा शिला देखे र त्यसै दिनदेखि सानो खरको छाप्रो बनाइ दैनिक पूजा सुरु गरेका भन्ने जनविश्वास छ”, कोषका अध्यक्ष थापाले भने ।

विसं १९३१ मा छाब्दीबाराही दर्शनमा आएका तल्कालीन राजा सुरेन्द्रविक्रम शाहले मन्दिरको नाममा ६१ रोपनी जग्गा दिएको इतिहासकारको भनाइ रहेको अध्यक्ष थापाले जानकारी दिए ।

वि.सं.२०८१ भदौ १३ बिहीवार १४:४६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...