कीर्तिपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ ।
माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । धनबहादुर महर्जन भन्छन् ‘दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।’ माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ ।
यसअघि माओवादी उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा।शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ ।
कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रँे काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ ।
यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् ।
कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।
विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।
कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा।चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल योपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।
वि.सं.२०८१ मंसिर १२ बुधवार १२:५२ मा प्रकाशित