काठमाडौँ । नेपाल पत्रकार महासङ्घ स्याङ्जाले गल्याङ एफ.एमका स्टेसन म्यानेजर केपी खनालसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
महासङ्घको १४औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनको अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा स्याङ्जालाई कर्मथलो बनाई पत्रकारिता पेसामा सक्रिय तीन जना पत्रकारलाई ‘क्रियाशील पत्रकारिता’ पुरस्कार प्रदान गरिएको हो । उनीहरूलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।
खनाल एक दशक काठमाडौँमा रहेर नेपाल एफ.एम नेटवर्क सँगै विभिन्न राष्ट्रिय मिडियामा आबद्ध थिए । पछिल्लो अर्काे दशक भने उनी स्याङ्जाको गल्याङ बजारमा रहेको गल्याङ एफ.एम ९२.२ मेगाहर्जमा स्टेसन म्यानेजरका रूपमा कार्यरत छन् ।
महासङ्घले गण्डकी समाचार डटकमका सम्पादक हिमलाल पराजुली, पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति सदस्य प्रकाश डोटेललाई पनि सम्मान गरेको थियो ।
जिल्लामा क्रियाशील पत्रकारहरूलाई सम्मान गरेर पत्रकारितालाई थप बलियो बनाउने उद्देश्यले महासङ्घको साधारण सभा एवं अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई सम्मान गरिएको शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए ।
वि.सं.२०८१ मंसिर २६ बुधवार १४:०४ मा प्रकाशित






























