back
CTIZAN AD

बाँसखर्कको पाखैभरि पहेँलपुर सुन्तला

वि.सं.२०८१ माघ १३ आइतवार

450 

shares

गण्डकी । बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन् । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो । बोटै निहुरिने गरी टलरम्म फलेका सुन्तलाको बगान छिचोल्दै ‘बासखर्क सुन्तला महोत्सव’मा सहभागी हुनपुग्नुभएकी मन्त्री श्रेष्ठले बाँसखर्कलाई सुन्तलाखर्कका रूपमा चिनाउनुपर्ने बताईन् ।

“यहाँको सन्तुलाबारे मन्त्रालयमा पछि छलफल हुन्थ्यो, साथीहरूबाट पनि धेरै कुरा सुनेकी थिएँ, तर आफैँले प्रत्यक्ष देख्दा यो ठाउँलाई बाँसखर्क नभई सुन्तलाखर्क भन्दा अझ उपयुक्त हुन्छ जस्तो मलाई लाग्यो”, मन्तव्यका क्रममा उनले भने । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा आयोजित महोत्सवमा पुगेका जोकोही त्यहाँको सुन्तलाखेती देखेर अचम्मित बने । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गाउँभरि सुन्तलाको बगान देखेर आफू प्रभावित भएको सुनाए । “एउटै बोटमा यतिधेरै सुन्तला फलेको धेरै काममात्र देखिन्छ, यहाँ त बगान नै लटरम्म बनेको छ, गाउँ नै सुन्तलाले ढाकेको छ”, उनले भने ।

गाउँका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यस वर्ष बाँसखर्कमा सुन्तला अत्यधिक फल्यो । उनले रु १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो । एक हजार पाँच सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कँदै गरेका बोटको सङ्ख्या २४ हजार चार सय ४५ रहेको किसान खत्रीले बताउनुभयो । कुल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा रु ३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ । उनले २५ रोपनीमा सुन्तलाखेती गर्दै आएका छन् ।

अर्का अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक रु २३ लाख र हेमबहादुर अर्मजाले रु १९ लाख बराबरको सुन्तला उत्पादन गर्दै आएका छन् । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन् । “व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि रु ४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ”, अगुवा किसान मेखबहादुर खत्रीले भने । बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा खपत हुने गरेको उहाँको भनाइ छ । उहाँकाअनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ । विसं १९९७÷९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उनले बताए ।

विसं २०२८ मा कृषि विकास बैंकले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन् । पोखरासम्म सडक पहुँच विस्तार भएपछि २०५२÷२०५३ सालदेखि बाँसखर्कका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती सुरु गरेका हुन् । दुई सय ३९ घरपरिवार रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन् । किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् ।

उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले बताए । “यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ”, उनले भने, “अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ÷फागुनसम्मै सुन्तला रहन्छ ।” बाँसखर्क समुद्री सतहबाट एक हजार एक सय मिटरदेखि एक हजार नौ सय मिटरसम्ममा फैलिएको छ । वडाध्यक्ष जकबहादुर रोकाले सुन्तला ढुवानीका लागि बाँसखर्क जोड्ने सडकको स्तरोन्नति हुनसके किसानलाई थप सुविधा पुग्ने बताए ।

सिँचाइ सुविधा, पहिरो नियन्त्रण र सुन्तला बगानमा रहेको विद्युत् तारको व्यवस्थापन नहुँदा किसानले समस्या भोग्दै आएको उनकोे भनाइ छ । गाउँपालिका र १ नं वडा कार्यालय मिलेर आयोजना गरिएको महोत्सवमा सुन्तलाखेतीसम्बन्धी प्रविधि प्रसार, सुन्तला प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो । उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरिएको थियो । महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रदर्शनी राखिएको थियो । एक दिनमात्र सञ्चालित उक्त महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मालगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले म्याग्दी सदरमुकाम बेनीबाट बाँसखर्क जोड्ने सडक स्तरोन्नतिका लागि आगामी बजेटमा योजना समावेश गर्ने बताए । मुख्यमन्त्री पाण्डेले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने बताए । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाँसखर्कको सुन्तलाको प्रवद्र्धन र बजारीकरणका साथै किसानलाई सुन्तलाखेतीतर्फ थप प्रोत्साहित गर्ने ध्येयले सुन्तला महोत्सव आयोजना गरिएको बताए ।

 

वि.सं.२०८१ माघ १३ आइतवार १२:१८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...