back
CTIZAN AD

किसानलाई वसन्त पञ्चमीमा श्रमिक पुज्न नपाएको चिन्ता

वि.सं.२०८१ माघ २१ सोमवार

627 

shares

महोत्तरी । “वसन्त पञ्चमीमा पूजा गर्नका लागि धेरै दिनदेखि श्रमिक खोज्दैछु, तर भेटिएका छैन”, भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षे किसान दीपनारायण चौधरी थारूले भने, “अब बुझ्दैछु, खेतीपातीका काम गर्न सकिन्न ।”

बर्दिबास–७ का ७५ वर्षीय रामउदगार महतोको दुखेसो पनि चौधरीको जस्तै छ । पछिल्ला एक दशकयता नियमित रूपले श्रमिक पुज्न नपाउँदा वसन्तपञ्चमी पर्वमा केही अपुग भए जस्ता हुन्छ उनलाई । “बस्ती वरपर श्रमिक पाइन्छन् कि भनेर खोजी गरियो, तर भेटिएनन्,” महतोल भने, “किसानका लागि पर्वको रौनक नै हरायो ।”

प्राचीन मिथिला क्षेत्रमा वर्षभरिको कृषि कार्य (हलो÷कोदालो चलाउने, गाईभैँसी चराउने, घाँसपात गर्नेसहितका काम) का लागि वसन्तपञ्चमीका दिन श्रमिकको टुङ्गो गर्ने चलन छ । यसरी टुङ्गो लगाइएपछि ती श्रमिकलाई घरमा डाकेर मिष्टान्न परिकार खुवाएर वस्त्र दक्षिणा दिने चलन छ । यस चलनलाई ‘जन पुज्ने’ भनिन्छ । तर गाउँ÷नगर बस्तीमा कृषि श्रमिक पाउनै छाडेपछि यहाँ यो पर्व परम्परा हराउँदै गएको छ ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने यो किसानका लागि उल्लासको पर्व पनि हो । यस दिन टुङ्गो लगाइएका श्रमिकका साथमा कैयौँ परिकार बनाएर खाइने मैथिल परम्परा हराउँदै गएको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साहको भनाइ छ । “आफ्नो बस्ती मात्र नभएर छिमेकका गाउँटोल पनि चाहारे, तर श्रमिक भेटिएनन्,” साह भन्छन् ।

श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने समय पनि हो । श्रमिकलाई खुसी पार्न नयाँ लुगा, मिष्टान्न परिकारको खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन छ । तर श्रमिक नै नपाएपछि पर्वको रौनक पनि छैन ।

मधेसमा मुसहर, बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन् । यी जाति समुदायको पेसा पनि कृषि कार्यको मजदुरी गरेर प्राप्त पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउनु हो । तर यिनीहरूको बसोबासका टोलबस्तीमा वृद्धवृद्धा, महिला र ससाना नानीमात्र देखिन्छन् । किशोर वयकै मुसहर, बाँतर कमाउन भारत गएपछि यहाँ कृषि जनशक्तिको अभाव भएको औरही–७ का श्यामसुन्दर यादव बताउँछन् । जन नपाएपछि आपूmले पछिल्ला दुई÷तीन वर्षदेखि जन खोज्न हिँड्न छाडेको यादवले बताए ।

आम किसानका छोराछोरी लेखपढ गर्ने र विदेश जाने मनसुवा राख्छन् । किसानकै घरको नयाँ पुस्ता पनि खेतीमा लाग्ने सोचमा देखिन्नन् । “हाम्रै छोरा लेखपढ गरेपछि हलो जोतेर बस्दैनौँ भनेर कोही जागिरमा कोही विदेश उडे, यहाँ काम गर्ने जन पाइन छाडियो”, रामगोपालपुर–२ टेङर बस्तीका ७५ वर्षीय गणेशप्रसाद यादव भन्छन् , “अब खेती गरेर भकारी भरौँला भन्ने नसोचे भयो ।” अब बुढेसकालमा जग्गा बेच्दै खानुपर्ने अवस्था आउन लागेको यादवले चिन्ता व्यक्त गरे ।

कृषि कार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी अब बाँझै बस्न थालेका भङ्गाहा–३ कटैयाकी रामराजी यादव बताउँछन् । यस पर्वमा कृषि श्रमिकसँगै कृषि ज्यावल बनाउने, मर्मत गर्ने लोहार (हँसिया, कचिया बनाउने, उध्याउने, हलो, कोदालो फाली पिट्ने कामका खास जाति समुदाय) पनि वर्षभरिलाई पुज्ने चलन छ ।

मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोई पखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । यसै दिन खेतबारीमा हलगोरु नारेर केही फन्का घुमाउने चलन पनि छ ।

भर्खरका बहर (जोत्ने उमेर पुगेका गोरु) लाई जोत्ने कार्यका लागि सघाउन नार्ने चलन पनि छ । तर मान्छे नै नभएपछि यी कुनै काम हुने, चल्ने अवस्था हराएको यहाँका किसान बताउँछन् । अपेक्षित रुपमा उत्पादन नहुने र उत्पादित फसलले उचित मूल्य नपाएपछि किसान भारतमा दिइनेजस्तो पारिश्रमिक यहाँ सोच्नै नसक्ने बताउँछन् । “बजारमा कोवी पाँच रूपैयाँ किलो छ, भान्टा १० रूपैयाँ किलो”, बर्दिबास–९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो भन्छन्, “यो भाउले लागत के उठाउनु, के दिनु र आफ्नो गुजारा केले धान्नु ?”

 

वि.सं.२०८१ माघ २१ सोमवार १२:५१ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...