back
CTIZAN AD

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

वि.सं.२०८१ माघ २५ शुक्रवार

732 

shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।

“सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्छन्, “यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।”

खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् ।

सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौंका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ ।

बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोपेका थिए । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे ।

बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थपे । त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो ।

विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै गएका थिए । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ ।

पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरेका थिए । निवृत्त जीवन पनि उनले सुन्तला खेतीमै लगाए । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् ।

खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताए ।

समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् ।

बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताए । छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ ।

देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौं र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् । रासस

वि.सं.२०८१ माघ २५ शुक्रवार १२:०६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...