काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक रहेकाले सबैले जोड दिनुपर्ने बताएका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी)ले आयोजना गरेको नसर्ने रोगको लागि पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा नसर्ने रोगको भार बढिरहेको बताउुँदै समयमै परीक्षण गर्न आग्रह गरे ।
उनले भने, “मलाई केही पनि हुँदैन भन्ने घमण्डमा हामीमा छ त्यसैले परीक्षण गर्न बेवास्ता गर्छौँ तर समयमा परीक्षण गरिएन भने दीर्घरोगी भइ बाँच्नु पर्ने हुन्छ । रोग लागेको छैन भन्ने घमण्ड त्यागौँ र नियमित परीक्षण गराऔँ । ”
डा पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान कार्यक्रम नियमित कार्यक्रमरूपमा गरिरहेको र स्थानीय तहले यो कार्यक्रमलाई बढी महत्वका साथ अघि बढाओस् भन्ने उद्देश्यले अभियान थालेको बताए ।
स्वास्थ्य मन्त्रालयले आजबाट महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ ।
यो अभियान नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुने भएको हो । देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थामा सञ्चालन हुँदैछ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नसर्ने रोगको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो । उनले भने, “यस अभियानले सबै स्वस्थ्य रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वजस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियन्त्रण र नुनको अत्यधिक प्रयोगमा कमी ल्याउन मद्दत पुग्ने आशा गरिएको छ । ”
विश्वभर मृत्यु र अपाङ्गताको मुख्य कारको रुपमा नसर्ने रोग रहेको छ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको देखिन्छ । बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तनजस्ता कारणले नसर्ने रोग बढिरहेको छ ।
वि.सं.२०८१ फागुन १ बिहीवार १३:३९ मा प्रकाशित






























