काठमाडौँ । रुस-युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् । रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस-युक्रेन युद्धमा परी मृत्यु भएको हो । फागुन २४ गते उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बनेका उनी पराजित बनेपछि रसिया गएका थिए ।
सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले बुढाथोकीको मृत्यु भएको खबर आएको बताए । बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन् ।
वि.सं.२०८१ फागुन २७ मंगलवार १०:१९ मा प्रकाशित






























