back
CTIZAN AD

पालिकाको उदाहरणीय कार्य, एक सय २१ किसानलाई ‘गुरु किसान’ को तालिम

वि.सं.२०८१ फागुन २७ मंगलवार

645 

shares

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए ।

छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । “अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।” यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए ।

रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदोरहेछ”, किसान राईले भने, “आउँदो वर्ष यही खेतीमा अझ मेहेनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”

यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया खवासले बताइन् । किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गुरु किसान कार्यक्रम ल्याइएको उपाध्यक्ष खवासको भनाइ छ । “उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष प्राथमिकता दिँदै सञ्चालन गरिएको गुरु किसान परियोजनाले दक्ष एवं अग्रज किसान छनोट गरेर उहाँहरूलाई पुलको रूपमा उपयोग गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ ।”

किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन यो अवधारणा ल्याइएको अध्यक्ष स्याङ्बोको भनाइ छ । “उत्पादकत्वमा ख्याल गर्ने मेहेनती किसान, सबै व्ययवस्थापनलाई चुस्त राख्ने किसान, क्वालिटी, क्वान्टिटी र कन्टिन्यु प्रोडक्सन गर्ने किसानलाई गुरु किसान भनेका छौँ”, उनले भनिन्, “आफूले जानेको सीप छिमेकीलाई सिकाउनेलाई गुरु किसान भनिएको हो । अब लगानी गर्दा गुरु किसानमार्फत नै गरिन्छ । अहिले एक सय २१ गुरु किसानबाट सुरु गरेका छौँ, भोलि एक हजार पुग्न सक्छ ।”

किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताए । पालिकाले गुरु किसानलाई लागो, पहिचान खुल्ने पहिरन, उहाँहरूले अध्ययन गर्ने पुस्तक, बोक्ने ब्याग, अभिलेख डायरी दिएको छ । “व्यावसायिक तालिममा जोडेर उहाँहरूको क्षमता विकासमा टेवा पुर्याउने काम गर्छौँ । प्रविधि हस्तान्तरणसहित उत्पादकत्वमा प्रतिस्पर्धा गराउँछौँ”, उपाध्यक्ष खवासले भनिन् “कार्यक्रमअन्तर्गत थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहेनती र अगुवा किसानलाई पालिकाले सम्मान गर्ने कार्ययोजना छ ।”

कार्यक्रमअन्तर्गत पालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने बताएको छ । कृषि पेसाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसान दिलकुमार अर्यालले बताए । “यो कार्यक्रम उत्कृष्ट लाग्यो । किसानले उत्पादन गरे पनि बजारीकरण गर्न नसक्दा प्रतिफल पाएका थिएनाँै । कृषि पेसा नै छाड्नुपर्छ भन्ने निराशा बढेको थियो । यस्तो बेलामा पालिकाको यो कार्यक्रमले प्रोत्साहन भएको छ”, कृषक अर्यालले भने ।

आधुनिक खेती पद्धतिको विकास गर्दै पालिकालाई समृद्ध बनाउन सुरु गरिएको गुरु किसान परियोजनाले यहाँका किसानमा खेतीप्रति जाँगर थपिएको कृृषक माया राई बताउनुहुन्छ । कृषक राम आचार्य भन्नुहुन्छ, “किसान त हामी पहिलेबाटै थियौँ । तर, यो कार्यक्रमले किसानमा पनि आधुनिक खेती प्रणालीको विकास गर्न जरुरी रहेछ । शिक्षित हुनुपर्नेरहेछ भन्ने कुराको बोध भएको छ ।”

वि.सं.२०८१ फागुन २७ मंगलवार १०:२८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...