
काठमाडौँ । नेपाल शिक्षक महासंघको नेतृत्वमा एक हप्तादेखि चालु सडक प्रदर्शनमा बुद्धिजीवीहरुले ऐक्यबद्धता जारी गरेका छन् ।
नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीले ऐक्यबद्धता वक्तव्य जारी गर्दै शिक्षकहरुद्वारा लगातार भैरहेको सडक प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति नेपाल बुद्धिजीवी संगठनको ध्यानाकर्षण भएको बताएका छन् ।
सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै वक्तव्यमा भनिएको छ – ‘नेपाल शिक्षक महासंघ र सरकार बिच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेशाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादीत प्रदर्शन, लामो समय सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महशुस गरी शिक्षकहरुका मागमा ऐक्यबद्धता प्रकट गर्दै गम्भिर र जिम्मेवार बन्न सरकारसँग हाम्रो अनुरोध छ ।’
’आफनो आवश्यकतामा सरकारले अध्यादेशलाई सहज माध्यम बनाईरहेको सन्दर्भमा संसदमा रहेको विद्यालय शिक्षा विधयेकलाई अकर्मन्य बनाउनुले सरकारको नियतप्रति प्रश्न उठेको अहिलेको अवस्थालाई अरु जटिलतातर्फ जान नदिन शिक्षक मित्रहरुको थप धैर्यता तथा सरकारको अविलम्व पहलकदमीको लागि नेपाल बुद्धिजीवी संगठन हार्दिक आग्रह गर्दछ’ वक्तव्यमा उल्लेख छ ।
वि.सं.२०८१ चैत २७ बुधवार ०८:५३ मा प्रकाशित