
कतारको शैलिया स्थितमा एक कम्पनीमा कार्यरत आइतराम तामाङले घरमा श्रीमती बिरामी भएको खबर सुनेपछि मन थाम्न सकेनन् र कम्पनीसँग घर फर्कने बिदा मागे । तर बिदा माग्न पुगेका तामाङलाई उल्टो कम्पनीले क्याम्पबाट समेत निकालिदियो । क्याम्पबाट निकालिएपछि नेपाली साथीको कोठामा शरण लिन पुगे ।
धादिङ घर भई कतारको शैयियास्थित पेस्टीसाइड एण्ड जनरल कन्ट्रायाक्टिङ कम्पनीमा कार्यरत तामाङ ८ महिना अघि कतार पुगेका थिए । कम्पनीबाट निकालिएर अलपत्र परेका तामाङको नयाँ शक्ति कतारले उद्धार गरी नेपाल फर्काएको छ ।
उनले करिब ३ महिना काम गरेको तलबसमेत पाएका थिएनन् । कम्पनीले तामाङलाई झुलाएरै करिब एक महिना जति राख्यो । कम्पनीबाट बारम्बार फोन गरी धम्काउने गरेको र सादा कागजमा ६ हजार रियल लिएको भनि एक्जिट भिषामा समेत रोक लगाए पछि पटक पटक कतारस्थिन नेपाली दूतावासमा गएर समस्या राख्दा पनि कुनै सहयोग नमिलेको तामाङले बताए ।
अन्ततः तामाङ आइतबार रातको २ बजेको फ्लाइटमा नेपाल फर्कन सफल भएको नयाँ शक्ति कतारका भसंयोजक बिबि खरालले जानकारी दिए ।