back
CTIZAN AD

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

वि.सं.२०८२ असार ११ बुधवार

624 

shares

काठमाडौँ । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै छन् । त्यसपछि उनको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवद्र्धन गर्दै आएका उनको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उनको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो ।

सन् २०२१ मा बिबिसी मास्टर सेफ भएपछि लण्डनबाट सुरू भएको उनको यो यात्रा अहिले विभिन्न देशमा फैलिँदो छ । नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उनलाई अहिले विभिन्न देशमा जान भ्याइनभ्याइ छ ।

बिबिसी मास्टर सेफ जितिसकेपछि संसारभर उनको वाहवाही चुलियो । उनले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो । धेरैले उनले बनाएको खानाको स्वाद लिन चाहन्थे । त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो । यो उनको पहिलो ‘पप–अप’ थियो ।

“म बिबिसी मास्टर सेफ भएपछि धेरैले खोजी गर्न थाले, म त्यो समयमा इन्डियन रेष्टुरेन्टमा काम गर्दथे, रेष्टुरेन्टको मेन्युमा नेपाली परिकार थिएनन्, त्यसैले लण्डनमै कार्यक्रम आयोजना गरिएको थियो”, सेफ साहले भने । उनको माग यति थियो कि उक्त कार्यक्रमको टिकट बिक्री खुलाएको दुई घण्टामै ‘सोल्डआउट’ भयो ।

उक्त पप–अप विभिन्न मितिका लागि आयोजना गरिएको थियो । एउटा कार्यक्रममा औसतमा २० देखि २२ जनाका लागि मात्रै सहभागी गराइएको थियो । चार महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि राखिएका ६०० टिकट निमेषभरमै सकियो ।

लण्डनको कार्यक्रम सकेपछि सोही वर्ष स्कटल्याण्डबाट पप–अपका लागि निम्तो आयो । स्कटल्याण्डमा नेपाली समुदायले नेपाली रेष्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेका थिए । सेफ साहले त्यहाँ पनि आफ्नो पाककलाको कौशल पस्किए ।

त्यसको केही समयपछि मास्टर सेफका चार जना विजेताका लागि लण्डनमै विशेष कार्यक्रम आयोजना गरियो । सबैका दुई–दुई कोर्स हुने गरी आठ कोर्सको मेन्यु बनाइएको थियो ।

लगातारका कार्यक्रमले उहाँको चर्चा अझ चुलियो । विभिन्न देशबाट पप–अप कार्यक्रमका लागि माग आउन थाल्यो । साहलाई लाग्यो, नेपाली खानालाई विश्वभर फैलाउने यो उपयुक्त माध्यम बन्न सक्छ ।

त्यसपछि साहले आफ्नो पाककलालाई एउटा होटल वा रेष्टुरेन्टमा मात्रै सीमित नराखी विश्व यात्रालाई निरन्तरता दिने योजना बनाएका थिए ।

तत्कालीन समयमा उनले नेपालमै मिथिला थालीका नाममा रेष्टुरेन्ट सुरू गरेर यतै व्यवसाय गर्ने सोच बनाए पनि नेपाली खानालाई विश्वभर प्रवद्र्धनको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच बनाएका थिए ।

उनले सन् २०२२ मा जर्मनी र स्वीट्जरल्याण्डमा पप–अप कार्यक्रम आयोजना गरे । अमेरिकामा पहिलो पटक जाँदा १४ ठाउँमा पप–अप आयोजना गरिएको थियो । जसमा सुरूआतमै सबै टिकट सोल्डआउट भएका थिए ।

यही सिलसिलामा साहले अष्ट्रेलियाका चार वटा र न्यूजिल्याण्डका पाँच सहरमा पप–अप कार्यक्रम सम्पन्न गरे । अब भने उनको तालिकामा क्यानडा र जापानमा पप–अप कार्यक्रम बनिरहेको छ ।

नेपाली खाना पकाउँदै विश्व यात्रा सुरू गर्नुभएका साहले नेपालमा पनि निजी स्तरमा पप–अप आयोजना गरिरहेका छन् । केही समय अघि नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको वैवाहिक वार्षिकोत्सव र अर्को चौधरीका पाहुनाका लागि मिथिला थालीमै विशेष पप–अप आयोजना गरेका थिए ।

“समयले भ्याएसम्म नेपालमै पनि पप–अप सो आयोजना गरिरहेको हुन्छु, विभिन्न संस्था तथा व्यक्तिका लागि केही कार्यक्रम आयोजना भइसकेका छन्”, सेफ साहले भने ।

उनले च्यारिटीका लागि पनि पप–अप गरेका छन् । स्वीट्जरल्याण्डमा विदेशीहरूमाझ गरिएको च्यारिटी पप–अपबाट सङ्कलन भएको रकम नेपालमा ल्याएर बोल्न र सुन्न नसक्नेहरूका लागि खर्च गरिएको थियो ।

उक्त रकमले पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकाहरूलाई हस्पिटालिटीसम्बन्धी तालिम दिइएको थियो ।त्यसबाहेक उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणका लागि पनि गेट कलेज र पाटाको सहकार्यमा अन्नपूर्ण होटलमा पप–अप आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी मानिसहरू थिए । त्यसबाट सङ्कलत भएको रकम अस्पतालको क्यान्टिन निर्माणमा खर्चिएको थियो ।

साहका अनुसार उनको विश्व यात्राका क्रममा ठाउँअनुसार मेन्यु पनि आवश्यकताअनुसार परिवर्तन भइरहन्छ ।तर,नेवारी परिकार वः अर्थात बारा र साँधेको भोगटे भने कहिल्यै नछुट्ने परिकारमा पर्छन् । यात्राका क्रममा उहाँलाई आउने अधिकांश प्रतिक्रियामध्ये एउटा हो, नेपाली खाना पस्कने उनको शैली ।

“नेपाली खानालाई पनि यति धेरै ‘क्रियटिभ’ र मीठासले तरिकाले सर्भ गर्न सकिने रहेछ भनेर आश्चर्य मान्नुहुन्छ”, साहले भने, “मैले नेपालमा भएका विभिन्न खानालाई आधुनिक टचअप दिएको हुन्छु, नयाँ शैलीमा पुरानै स्वाद चाख्न पाउँदा उहाँहरू निकै हर्षित हुनुहुन्छ ।”

साहले बनाएको जुजु धौ (दही)को परिकारलाई धेरैले मन पराएका छन् । जुजु धौमा स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूल उमालेको पानी, जाम र जेरी क्रम्बल गरिएको बेक्ड जुजुधौ अधिकांशले मन पराउने परिकारमा पर्छ ।

साथै भाङको पातको पकौडा पनि धेरैले मन पराएका छन् । भाङको पातको पकौडामा डल्ले खुर्सानी, चाट मसला मिश्रण गरिएको हुन्छ । त्यसैगरी मासको दाल, याक चिज मिसाइएको काँचो केराको फुलौरा पनि साहको उत्कृष्ट परिकारमा पर्छ ।

विश्व यात्राका दौरानमा अमेरिकामा आयोजना भएको ममः महोत्सवमा उनले बनाएको कोदोको खिर खानेहरूले मुक्तकण्ठले साहको प्रशंसा गरेको सम्झाना साहलाई अझै ताजा छ ।

उनले अधिकांश स्थानमा १० देखि १७ कोर्ससम्मको मेन्यु बनाउने गरेका छन् । नेवारी, मधेसीलगायतका खानालाई आधुनिक ‘फ्लेवर’ दिएर ‘सर्भ’ गर्छन् ।

वि.सं.२०८२ असार ११ बुधवार १८:०३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...